राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख ४ गते । स्याङ्जाको हरिनास गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणले गति लिएको छ । गाउँमा नै सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुँदा आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउनेमा हरिनास क्षेत्रका स्थानीय आशावादी भएका छन् ।
भौगोलिक रुपमा विकट रहेको यो क्षेत्रका नागरिकले वर्षौँदेखि स्वास्थ्य उपचारका लागि सास्ती खेप्दै आएका छन् । सामान्यदेखि जटिल उपचारका लागि नजिक असपताल नहुुँदा पोखरा जानुपर्ने बाध्यता रहेको स्थानीय प्रकाश पौडेलले बताउनुभयो ।
पछिल्लो समय हरिनास गाउँपालिका–३, चिसापानीमा धमाधम अस्पताल बन्न थालेपछि स्थानीय उत्साहित भएका हुन् ।
प्रशासनिक कामका लागि सदरमुकाम पुग्न कठिन हुने हरिनासबासीलाई स्वास्थ्य उपचारका लागि पनि छिमेकी जिल्ला तनहुँको दुलेगौँडा तथा पोखरा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय ठाकुर सिग्देलको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँमा नै सुविधा सम्पन्न अस्पताल निर्माण भईरहेको छ, अव सहज हुने छ ।”
सङ्घीय सरकारको करिब १२ करोड ९२ लाख ८६ हजार तीन सय रुपियाँको लागतमा निर्माणाधीन यो अस्पतालले सेवा दिन थाले पछि यस क्षेत्रका नागरिकलाई राहत मिल्ने छ ।
२०७८ सालमै सम्झौता भए पनि प्राविधिक कारणले केही समय काम रोकिएको थियो । तर अहिले निर्माण कम्पनीले आगामी वर्षभित्रै सक्ने गरी कामलाई तीव्रता दिएको शुभ कन्ट्रक्सनका लेखा अधिकृत नबिन तिवारीले जानकारी दिनुभयो ।
निर्माणाधिन अस्पतालले सेवा प्रवाह सुरु गरेपछि हरिनास गाउँपालिकाका नागरिकलाई ठुलो राहत हुने पालिकाका अध्यक्ष खिमबहादुर मानन्धरले जानकारी दिनुभयो ।