हुम्ला समाचारदाता
हुम्ला, वैशाख ४ गते । हुम्लाको सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिका–६ को मानसरोवर माध्यमिक विद्यालयको प्राथमिक तह (कक्षा १–५) अहिले एक जना शिक्षकका भरमा सञ्चालन भइरहेको छ । चालु शैक्षिक सत्रदेखि यो विद्यालयले कक्षा १ देखि ५ सम्मको पठनपाठनका लागि स्वीकृति पाएको हो तर शिक्षकको आवश्यक व्यवस्था नगरी गाउँपालिकाले कक्षा सञ्चालनको अनुमति दिँदा विद्यालयमा अहिले पठनपाठनमा समस्या देखिएको छ ।
आधारभूत तह (कक्षा १–५) का सबै कक्षामा आफू एक्लैले पठनपाठन गराइरहेको शिक्षक शक्तिसिंह रावतले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अर्का एक अस्थायी शिक्षक भए पनि हाल उहाँ सुत्केरी बिदामा रहेका कारण पाँच वटै कक्षाको जिम्मेवारी एकै व्यक्तिमा थुप्रिएको हो । यसअघि उक्त विद्यालयमा कक्षा ५ देखि १२ सम्म मात्र पठनपाठन हुँदै आएको थियो । कक्षा थपको अनुमति दिनुअघि आवश्यक पूर्वाधार र जनशक्तिको उचित मूल्याङ्कन नगरिएका कारण यो समस्या आएको हो ।
गत फागुनदेखि प्राथमिक तहको पढाइ सुरु भएको यस विद्यालयमा हाल ३३ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये कक्षा १ मा १३, कक्षा २ मा पाँच, कक्षा ३ मा एक, कक्षा ४ मा सात र कक्षा ५ मा सात विद्यार्थी छन् । बालविकास (इसिडी) कक्षा भने अझै सुरु हुन सकेको छैन । यसअघि कक्षा ६ मा अन्य विद्यालयबाट भर्ना हुन आउने विद्यार्थीको शैक्षिक स्तर कमजोर देखिएपछि विद्यालयले जगैदेखि गुणस्तर सुधार्न आफ्नै विद्यार्थी तयार गर्ने उद्देश्यले प्राथमिक तह सञ्चालनको माग गरेको थियो ।
यता सिमकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले कक्षा सञ्चालनको अनुमति पाएपछि त्यसको व्यवस्थापन गर्ने प्राथमिक जिम्मेवारी विद्यालयकै भएको बताउनुभयो । यद्यपि विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक व्यवस्थापन गर्न गाउँपालिका सकारात्मक रहेको उहाँको भनाइ छ । विगत चार वर्षदेखि चर्चामा रहेको शिक्षक दरबन्दी मिलानको कार्य प्रभावकारी हुन नसक्दा कतै शिक्षक बढी त कतै न्यून हुने समस्या देखिएको आचार्यले स्वीकार गर्नुभयो । गाउँपालिकाले चाँडै दरबन्दी मिलानको कार्यलाई अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।