वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, वैशाख ४ गते । सिँचाइ सुविधाबाट टाढा रहेका वराहक्षेत्र नगरपालिका–७, देवीघाट टोलका किसानलाई भूमिगत जल सिँचाइले खुसी ल्याएको छ । सप्तकोशी नदी र नहरको बिचमा रहेको गाउँमा भूमिगत जल सिँचाइबाट सुविधा पाएपछि किसान खुसी बनेका छन् ।
सप्तकोशी भूमिगत सिँचाइ जल उपभोक्ता समितिमार्फत डिप ट्युबेलबाट खेतमा सिँचाइ सुविधा पाएपछि किसानले हिउँदे तरकारी र अन्य बाली लगाउँदै आएको उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर कटुवालले बताउनुभयो । उहाँका अनुसार १७ वटा बोरिङ मेसिन विद्युतीय लाइनबाट चल्दै आएका छन् । कटुवाल भन्नुहुन्छ, “पहिला सिँचाइको व्यवस्था नहुँदा धान रोप्न पनि आकासे पानीकै भर पर्नु पथ्र्याे । धेरैको बारी बाँझै बस्थ्यो । भूमिगत सिँचाइको व्यवस्था भएपछि यही खेतबारीमा तीन बालीसम्म उत्पादन हुन थालेको छ ।”
सिँचाइ सुविधा नहुँदा हिउँदमा बाली सुक्ने गथ्र्याे । सिँचाइ भएपछि खेती गर्न उत्साह बढेको बोरिङ नम्बर ७ का संयोजक खेमराज कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रतिघण्टा ३० रुपियाँ लिएर समितिमार्फत सिँचाइ वितरण गर्दै आएका छौँ ।
खेत खेतमै पु-याइएको आउट सेटमार्फत एक सय बिघाभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुग्दै आएको छ । भूमिगत जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले उपभोक्ता समितिमार्फत सञ्चालनमा ल्याएको सिँचाइ प्रभावकारी बनेको सप्तकोशी भूमिगत सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष कमल कटुवालले बताउनुभयो ।
देवीघाट, क्याम्पा, सोमबारे, निर्माण चोक, धिमाल चोक, भिगझोडालगायतका क्षेत्रमा सिँचाइ सुविधा पुग्दा किसानलाई राहत भएको छ । उक्त क्षेत्रमा कुलोपैनीको पानी नलाग्दा सिजन अनुसारका बाली लगाउन किसानलाई गाह्रो हुने गरेको थियो । सिँचाइ भएपछि किसान व्यावसायिक खेतीमा लागेको स्थानीय राजीव भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “उर्वर माटो भए पनि सिँचाइको व्यवस्था नहुँदा किसानको दुःख व्यर्थ हुन्थ्यो । सिँचाइ आएपछि माटो अनुसार उत्पादन हुँदै आएको छ ।’’
खेती हुने ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युबेलबाट सिँचाइ सुविधा पु-याइएपछि उत्पादनसमेत बढेको बताइएको छ । उपभोक्ता समितिमार्फत निर्माण गरिने भएकाले उपभोक्ताको आवश्यकता अनुसार आउटलेट राखिँदा कृषकलाई सिँचाइ गर्न सहज भएको छ ।
उत्पादकत्वमा वृद्धि तथा कृषकको खेतमा सिँचाइ सुविधा पु-याउन भूमिगत सिँचाइ प्रणाली प्रभावकारी भएको कृषकको भनाइ छ । नहरको सुविधा नभएको क्षेत्रमा आकासे पानीमाथि निर्भर रहनुपर्ने किसानका लागि यो प्रविधिले किसानलाई राहत मिलेको छ ।