• ४ वैशाख २०८३, शुक्रबार

‘सुशासनका लागि काम गर्छु’

blog

जयकृष्ण यादव

इनरुवा, वैशाख ४ गते   । सामाजसेवा गर्दै सेवाको भावबाट राजनीतिमा प्रवेश गर्नुभएकी सृष्टि भट्टराई समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । युवाको पक्षमा वकालत, हत्या, हिंसा र बलात्कार तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आउनुभएको थियो । 

देशमा विधिको शासनको अनुभूति हुने गरी विगतमा काम नभएकाले भट्टराईले भुइँ मान्छे, महिला र बालबालिकाको हकहित र अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको थियो । सुनसरी जिल्ला अदालतमा बाल मनोविज्ञका रूपमा समेत उहाँले सेवा गर्नुभयो । समाजमा भट्टराई मानसिक स्वास्थ्य परामर्शकर्ता, बाल मनोविज्ञ, केरियर काउन्सलर, सफल व्यावसायिक व्यक्तित्वका रूपमा परिचित रहेकोमा यसपालिको प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा परेर देशको कानुन बनाउने ठाउँमा पुग्नुभएको छ । 

देशको कुनै पनि कुनामा महिला र बालबालिकाको विरुद्धमा भएको हिंसाका  घटनामा आवाज उठाउने, प्ले कार्ड र ब्यानर बोकेर सडकमा उत्रिएर न्यायको पक्षमा वकालत गर्दै आउनुभएको थियो । अब न्यायका लागि काम गर्ने र थप प्रभावकारी कानुन बनाउने ठाउँमा पुग्नुभएको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि प्रश्न उठाउँदै आएकोमा अब जवाफ दिने र नागरिकलाई न्यायको महसुस गराउनतर्फ अग्रसर भएर लाग्ने ठाउँमा पुग्नुभएको छ । 

नवयुवा (जेनजी) समूहबाट प्रतिनिधि सभा सदस्य बन्न पाएकोमा खुसी भएको उहाँले बताउनुभयो । जनमतको कदर गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको हिसाबले पछाडि परेको र पारिएका समुदायसहित बालबालिका र महिलाको संरक्षणमा ध्यान केन्द्रित रहने बताउनुहुन्छ । देश विकास र सुशासनको पक्षमा काम गर्ने अठोटका साथ राजनीतिमा आएकाले सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुनसरीको इटहरी उपमहानगरपालिका–१६, बालग्राममा उहाँको जन्म भएको हो । पीडित र भुइँ मान्छेका लागि आफू जहिले लागिपर्ने, मानसिक स्वास्थ्यको परामर्शकर्ता भएकाले समाजमा भएको मानसिक समस्यालाई गम्भीर रूपमा लिएको उहाँले बताउनुभयो । ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन गरेकाले ग्रामीण क्षेत्रको विकासका लागि काम गर्ने उहाँको भनाइ छ । 

युवाको शिक्षा, स्वास्थ्य, खानोपानी, रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने पक्षमा रहेको बताउनुभयो । युवा, महिला र शिक्षित युवालाई राजनीतिमा प्रवेश गर्नका लागि प्रोत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

आफू पूर्वाधार विकास समितिको सदस्यसमेत भएकाले पूर्वाधार, खानेपानी, सडकसहितको निर्माण, गुणस्तर र सुशासनमा विशेष ध्यान दिने बताउनुभयो । भ्रष्टाचार न्यूनीकरण र सुशासनको अनुभूति हुने गरी भुइँ मान्छेका समस्या समाधान गर्ने गरी काम गर्ने उहाँको भनाइ छ ।