• ४ वैशाख २०८३, शुक्रबार

बर्खाअघि नारायणी नदी नियन्त्रणको काम

blog

नवलपरासी समाचारदाता

त्रिवेणी सुस्ता, वैशाख ४ गते । पूर्वी र पश्चिम नवलपरासीको सीमा क्षेत्रबाट बग्ने नारायणी नदीको बाढी गत वर्ष सुस्तागाउँमा पसेपछि सुस्तामा अहिले नदी नियन्त्रणको काम भइरहेको छ । 

सङ्घीय सरकारको झन्डै १२ करोड रुपियाँको लगानीमा सुस्ता बाढी नियन्त्रणको काम सुरु भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाव सिधै सुस्ताको बस्तीतर्फ सोझिएकोले वर्षायाममा हुन सक्ने जोखिमलाई हेरेर बाढी नियन्त्रणको काम सुरु गरिएको हो । 

नारायणी नदीको बाढीले यहाँका बासिन्दाको उठिबास लगाउने हो कि भन्ने चिन्ता थपिएको सुस्ताका बेगम मियाँले बताउनुभयो । नदी तटबन्ध भत्काएर बस्ती प्रवेश गरेको क्षेत्रमा अहिले पनि पाँच मिटरसम्म गहिरो भएकाले सबै ठाउँमा तटबन्ध लगाउन सम्भव नभएपछि वैकल्पिक उपाय अवलम्बन गरिएको छ । गत वर्ष वर्षायाममा सुस्ताको उत्तरतर्फको भागबाट बाढी बस्तीमा पसेपछि स्थानीयले रातभर जाग्राम बसेर बोरामा बालुवा भरेर बस्ती जोगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो । 

यस वर्ष वर्षायामअगावै नदी नियन्त्रणको दरिलो संरचना तयार नभए सुस्ता बाढीको भेलसँगै बग्ने भन्दै सुस्तावासीले तत्कालीन भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएपछि बजेट व्यवस्थापन गरेर ठेक्का आह्वान गरिएको अध्यक्ष उपाध्यायले बताउनुभयो । भत्किएको स्थानमा मर्मत गर्ने र धेरै गहिरो भएको स्थानमा त्रिभुज आकारका सिमेन्टका पोललाई प्रयोग गरेर नदी नियन्त्रणको काम भइरहेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले बताउनुभयो । 

सुस्तागाउँ तीनतिरबाट नारायणी नदीले घेरेको छ । ठुलो बाढी पसेमा सुस्तामा उद्धारका लागिसमेत कठिन हुने अवस्था रहेकाले बाढी आएका बेला स्थानीय रातभर जाग्राम बस्ने गरेको स्थानीय मुअत्तर खलीले बताउनुभयो । सुस्तामा नदी नियन्त्रणका लागि आगामी आर्थिक वर्षको बजेटमा थप व्यवस्थापनको पहल भइरहेको, अधुरो तटबन्ध पूरा गर्ने र जोखिम स्थानमा भारतको सीमासम्म काम गर्नुपर्ने यहाँका सांसद विक्रम खनालले बताउनुभयो ।