• ४ वैशाख २०८३, शुक्रबार

सप्तकोसी किनार आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै

blog

सप्तकोसीको बोराबाँध क्षेत्रमा रमाउँदै पर्यटक । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, वैशाख ४ गते ।
सप्तकोसी नदी किनार क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । सप्तकोसी नदीको पूर्वी तटबन्ध क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको हो ।

पूर्वी नेपालका विभिन्न स्थानबाट सप्तकोसी नदीको पूर्वी तटबन्ध क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नयाँ वर्ष सुरु भएयता कोसी किनारको बोराबाँध र चतरास्थित कोसी पुल क्षेत्रमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको स्थानीयले बताएका छन् ।

स्थानीय होटल व्यवसायी विमान राईका अनुसार सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न तथा सप्तकोसी नदीको सफा पानीमा डुङ्गा र बोट सयरको आनन्द लिन आन्तरिक पर्यटकहरू बोराबाँध र चतराको कोसी पुल क्षेत्रमा आउने गरेका छन् । “युवायुवतीदेखि वृद्धसम्म कोसीको मनोरम दृश्य हेर्न र सूर्यास्त अवलोकन गर्न यहाँ आउँछन्,” उहाँले भन्नुभयो ।

पूर्वी नेपालका साथै भारतको बिहारबाट समेत पर्यटक आउने भएकाले सप्तकोसी नदीको पूर्वी किनारको धरहरा टप्पु क्षेत्रदेखि चतरा पुलसम्म आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिने वैकल्पिक मार्गका रूपमा रहेको चतराको पुल क्षेत्र थप आकर्षक बन्दै गएपछि पर्यटकको सङ्ख्या बढेको हो ।

विशेष अवसरबाहेक अन्य समयमा पनि आन्तरिक पर्यटक कोसी किनार र कोसी पुल क्षेत्रमा घुम्न आउने गरेका छन् । पछिल्लो समय वर्षभरि नै चतराको कोसी पुल क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको स्थानीय भविन राउतले बताउनुभयो । उहाँका अनुसार कोसी किनार धार्मिक स्थलहरूसँग जोडिएकाले पनि यो क्षेत्र थप आकर्षक बनेको हो ।

यहाँ घुम्न आउने पर्यटकहरूले वराहक्षेत्र मन्दिर, कुम्भ स्तम्भ, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिस महल, औलिया मठ, रामधुनी मन्दिरलगायत धार्मिक स्थलको समेत अवलोकन गर्ने गरेका छन् । सप्तकोसी नदी, हरियाली डाँडा र छहराहरूको मनोरम दृश्य अवलोकन गर्न पनि पर्यटकहरू आउने गरेका छन् ।

धरान, इटहरी, विराटनगर, फत्तेपुर, गाईघाट, बेलटारलगायत क्षेत्रबाट सूर्यास्त अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । वराहक्षेत्र, चतराधाम, रामधुनी, विष्णुपादुका र धरान नजिकको चतरा सूर्यकुण्ड क्षेत्र प्राकृतिक रूपमा भेडेटारपछि प्रमुख रमणीय स्थलका रूपमा विकसित हुँदै गएको स्थानीय सञ्चारकर्मी नवराज विष्टले बताउनुभयो ।

कोसी पुल वरपर स्तरीय होटलदेखि साना खाजा पसलसम्म सञ्चालनमा रहेकाले पर्यटकका लागि आवास तथा खानपानको राम्रो व्यवस्था रहेको ग्यालेक्सी होटलका सञ्चालक ईश्वर गुरुङले बताउनुभयो ।

सप्तकोसी नदीमा सञ्चालन हुँदै आएको जेटबोट पनि यहाँको अर्को आकर्षण बनेको छ । जेटबोट बराहक्षेत्रदेखि सिम्लेसम्म सञ्चालन हुने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङलगायत जिल्लाबाट जेटबोट सयर गर्न पर्यटक आउने गरेका छन् ।