• ४ वैशाख २०८३, शुक्रबार

‘युवा र महिलाका मुद्दा संसद्मा उठाउँछु’

blog

भैरहवा, वैशाख ४ गते । पाँच वर्षअघि राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको नमुना युवा संसद् अभ्यासमा ‘काल्पनिक’ सभामुख बनेकी श्रद्धा कुँवर अहिले वास्तविक राजनीतिक यात्रामा प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । रुपन्देहीको देवदह नगरपालिका–७, खैरेनीकी २७ वर्षीय श्रद्धा कुँवरको यो यात्रा केवल पद प्राप्तिका लागि मात्र होइन, सामाजिक सङ्घर्ष, आत्मविश्वास र निरन्तर नेतृत्व विकासको परिणाम हो ।

रुपन्देहीको देवदह नगरपालिका–७ मा २०५५ सालमा जन्मिएकी श्रद्धा बाल्यकालदेखि नै सामाजिक र राजनीतिक वातावरणमा हुर्किनुभयो । परिवारबाटै प्राप्त राजनीतिक चेतनाले उहाँलाई समाजसेवा र नेतृत्वतर्फ डोहो¥यायो । राजनीतिक यात्रामा उहाँ प्रारम्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा सङ्गठनमा सक्रिय रहनुभयो । 

युवा सङ्घ नेपालको केन्द्रीय सदस्य र कोषाध्यक्ष हुँदै जिल्ला कमिटी सदस्यसम्म पुगेकी श्रद्धा भदौ २३ मा जेनजी प्रदर्शनका दिन सामाजिक सञ्जालमार्फत पार्टी र सङ्गठन दुवै त्याग्ने निर्णयमा पुग्नुभयो । उहाँको भनाइमा आवाजविहीनको आवाज उठाउने प्रयास भए पनि त्यो नीति निर्माण तहसम्म प्रभावकारी रूपमा पुग्न नसकेको अनुभवले नयाँ बाटो रोज्न प्रेरित ग¥यो ।

उहाँ युवा सङ्घमा दुई कार्यकाल केन्द्रीय सदस्य रहनुभयो । राजनीतिमा सक्रिय हुँदै जाँदा उहाँले युवाको सहभागिता बढाउन विभिन्न अभियान सञ्चालन गर्नुभयो । युवा नेतृत्व विकास, महिला सहभागिता, सामाजिक न्यायलगायतका मुद्दामा उहाँले आवाज उठाउनुभयो ।

केही समय स्वतन्त्र रूपमा सामाजिक अभियान चलाएकी श्रद्धा पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभयो । यही सक्रियताका आधारमा उहाँ खसआर्य महिला कोटाबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । निर्वाचनका क्रममा उहाँले रुपन्देही, गुल्मी र अर्घाखाँचीका गाउँ गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो । गुल्मी उहाँको पुख्र्यौली थलो पनि हो । जसले उहाँको राजनीतिक सम्बन्धलाई अझ बलियो बनायो । १६ वर्षकै उमेरमा क्यान्सरका कारण आमा गुमाएकी श्रद्धाले बुवा गुमानसिंह कुँवरका साथमा परिवारको जिम्मेवारी समाल्नुभयो । अध्ययन, परिवार र सामाजिक अभियानलाई सँगसँगै अगाडि बढाउँदै उहाँले बहिनीलाई पनि नेतृत्वमा अघि बढाउने प्रेरणा दिनुभयो । 

कुँवरको प्राथमिकता युवा र महिलाका मुद्दालाई नीति निर्माणको केन्द्रमा ल्याउने कुरा रहेको छ । उहाँ भन्नुहुन्छ, “मैले सामाजिक अभियानमा देखेका समस्या, भोगेका चुनौती र युवापुस्ताको चाहनालाई नीतिमा प्रतिविम्बित गर्न दबाब सिर्जना गर्ने छु ।” उहाँले युवा रोजगारी, शिक्षा सुधार, पारदर्शी शासन र महिला नेतृत्वलाई संसद्मा प्राथमिकता दिने बताउनुभयो ।   

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।