• १३ साउन २०८१, आइतबार

“नेपाल एयरलाइन्सको विमान ल्याउन पहल गर्छु”

मन्त्री किरातीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

blog

गौतम बुद्ध विमानस्थल निरीक्षणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको टोली। तस्बिरः लक्ष्मण पौडेल

भैरहवा, माघ २२ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आइतबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ। पहिलो पटक विमानस्थल आउनुभएका किरातीले अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राख्नुभएको हो।

निरीक्षणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री किरातीले गौतमबुद्व विमानस्थलबाट तत्काल नेपाल एयर लायन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताउनुभयो। उहाँले अहिले रोकिएको उडान सुचारू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसलाई गौतमबुद्व विमानस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने बताउनुभयो।

उहाँले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट  कूटनीतिक र मन्त्रालय स्तरबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्वता जनाउनुभयो। मन्त्री किरातीले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने बताउनुभयो। मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा गौतमबुद्व विमानस्थलको रूटको एजेन्डामा राख्ने बताउनुभयो।

“प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थल सञ्चालनका लागि रूटको विषय मुख्य एजेन्डामा पर्छ, श्रीलङ्काबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ”, उहाँले भन्नुभयो। मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने मन्त्री किरातीले बताउनुभयो। 

निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभयो। मन्त्री किरातीले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गर्नुभयो। उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताउनुभयो। 

मन्त्री किरातीसमक्ष विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताउनुभयो। मन्त्री किरातीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गर्नुभएको छ।  

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।