• १८ चैत २०८२, बुधबार

‘कृषि र सडक मुख्य प्राथमिकता’

blog

भैरहवा, चैत १८ गते । रुपन्देहीको राजनीतिक परिवेशमा पछिल्लो समय एउटा नयाँ नामले विशेष चर्चा पाएको छ– कन्हैया बनिया । प्रदेश सभा सदस्य त्याग्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सङ्घीय संसद्को यात्रा तय गरेका बनियाँ रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का जनताको विश्वास जित्न सफल हुनुभएको छ । 

२०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (क) मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनिया रास्वपामा सक्रिय हुँदै सङ्घीय संसद् पुग्नुभएको हो । २०४६ भदौ ८ गते जन्मिएका बनियाको बाल्यकालदेखि नै स्थानीय सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थासँग गहिरो सम्बन्ध रह्यो । यही अनुभवले उहाँलाई आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर दियो । 

रुपन्देहीको योगीकुटीस्थित तिलोत्तमा कलेजबाट विज्ञान सङ्कायमा प्लस टु उत्तीर्ण गरेका बनिया उच्च शिक्षा अध्ययनका क्रममा चीनको डली युनिभर्सिटीमा एमबिबिएस अध्ययनका लागि जानुभएको थियो तर केही कारणले अध्ययन बिचमै छोड्नुभयो । त्यसपछि उहाँले व्यवस्थापन विषयतर्फ ध्यान केन्द्रित गर्दै शङ्करदेव क्याम्पस काठमाडौँबाट बिबिएस तथा एमबिएस अध्ययन पूरा गर्नुभयो ।

हाल उहाँ त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । गत फागुन २१ गतेको निर्वाचन बनियाका लागि महत्वपूर्ण मोड साबित भयो । उहाँले २८ हजार ६६ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीलाई सात हजारभन्दा बढीको अन्तरले पछि पार्दै विजय हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रमोदकुमार यादवले २० हजार २६२ मत पाउनुभएको थियो । विशेष गरी युवावर्ग, ग्रामीण भेगका नागरिक र परिवर्तन चाहने मतदाताले उहाँलाई समर्थन गरेको देखिन्छ ।

बनियाको राजनीतिक एजेन्डा विकास, सुशासन र जनसहभागितामूलक योजना निर्माण छ । कृषिप्रधान क्षेत्र रुपन्देही–४ मा किसानका समस्या उहाँको प्राथमिकतामा छन् । सिँचाइको अभाव, मलखादको अनियमित आपूर्ति र उत्पादनको उचित मूल्य नपाउने समस्यालाई सम्बोधन गर्न उहाँले सिँचाइ पूर्वाधार विस्तार, सहुलियतमा मलखाद उपलब्ध गराउने र कृषि बजार व्यवस्थित गर्ने काममा आफूले विशेष भूमिका खेल्ने बताउनुहुन्छ । “किसान बलियो भए मात्र क्षेत्र समृद्ध हुन्छ,” उहाँ भन्नुहन्छ, “म यहाँका जनताको प्रतिनिधिको हिसाबले किसानलाई बलियो बनाउने भूमिका खेल्ने छु ।”

शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उहाँले स्पष्ट योजना प्रस्तुत गर्नुभएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार र स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति व्यवस्थापन जस्ता विषयमा आफूले संसद्मा प्राथमिकतासाथ आवाज उठाउने बनियाको भनाइ छ । 

भौतिक पूर्वाधारतर्फ उहाँले सीमाक्षेत्रका सडक सञ्जाल सुधार, प्रमुख सडक कालोपत्रे र चकियाघाटलगायत स्थानमा पुल निर्माण गर्ने विषयमा चुनावका बेला गरेको प्रतिबद्धतालाई पूरा गर्ने गरी अगाडि बढ्ने बताउनुहुन्छ । मर्चबार चक्रपथ र चार लेन सडक निर्माणको काम अगाडि बढाउन विशेष पहल गरिने उहाँको भनाइ छ । सीमावर्ती व्यापार र व्यवस्थापनमा सङ्घीय सरकारसँग सहकार्य गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने योजना पनि उहाँले अघि सार्नुभएको छ ।

सुशासन कायम गर्ने उहाँको अर्को मुख्य प्रतिबद्धता हो । भ्रष्टाचार नियन्त्रण, सरकारी सेवा प्रवाहमा पारदर्शिता र जनताको सहज पहुँच सुनिश्चित गर्ने विषयमा उहाँले जोड दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “सरकारी सेवा सर्वसाधारणको अधिकार हो, यसका लागि सुशासनमा जोड दिनु पर्छ ।”

आफू केवल आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित नहुने उहाँको भनाइ छ । उहाँ सङ्घीय तहमा सीमाक्षेत्रको व्यवस्थापन र व्यापारिक सहजीकरणका लागि नीतिगत हस्तक्षेप गर्ने योजनामा समेत हुनुहुन्छ ।   

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।