• २७ चैत २०८२, शुक्रबार

फेरि थन्किए लुम्बिनीका हरिया बस

blog

लुम्बिनीमा छ वर्षदेखि थन्किएका विद्युतीय बस र भ्यान । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा, चैत २७ गते । छ वर्षअघि लुम्बिनीमा सञ्चालनका लागि ल्याइएको प्रदूषणरहित सवारीसाधन थन्किएका छन् । ती सवारीसाधन ल्याइँदा यहाँका स्थानीय उत्साही थिए । लुम्बिनीमा आउने पर्यटकका लागि यात्रा सहज हुने र पर्यटकको आकर्षण थप बढ्ने स्थानीयको अपेक्षा थियो । शान्तिका दूत गौतम बुद्ध जन्मिएका स्थानमा प्रदूषणरहित यातायातको ‘हरियो सपना’ पनि देखाइएको थियो । त्यो सपना करिब छ वर्षसम्म धुलो, घाम र वर्षाले थिचिएर रह्यो । तर अहिले सरकार फेरिएसँगै ती हरिया बस चलाउने पहल थालिए पनि सार्थक हुनचाहिँ सकेको छैन । 

एक साताअघि एउटा बस लुम्बिनीबाट भैरहवा हुँदै बेलहिया र अर्को बस लुम्बिनीबाट तिलौराकोट र कुदान रुटमा चलाइएको थियो । चैत १८ र १९ गते दुई दिन चलेका विद्युतीय बस शुक्रबारदेखि चल्न छाडेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले बताउनुभयो । अहिले लुम्बिनीमा छ वर्षसम्म थन्किएका पाँच वटै विद्युतीय बस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको छ ।

२०७७ साल मङ्सिर ९ गते एसियाली विकास बैङ्क (एडिबी) को अनुदान सहयोगमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत पाँच वटा अत्याधुनिक विद्युतीय बस र १४ वटा भ्यान लुम्बिनी ल्याइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विक्रम संवत् २०७९ जेठ १२ गते लुम्बिनी विकास कोषलाई ती विद्युतीय सवारी हस्तान्तरण गरेको थियो । करिब १३ करोड रुपियाँबराबरका यी 

सवारीसाधनले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने र पर्यटकलाई सहज यात्रा सेवा दिने लक्ष्य राखिएको थियो ।

ती योजना बर्सौंसम्म कागजमै सीमित रह्यो । सवारी ल्याइए तर सञ्चालनको स्पष्ट मोडालिटी (कार्यविधि) बनेन । सुरुमा सेतो नम्बर प्लेटको विवाद आयो । सरकारी प्लेट भएका सवारीले पर्यटक बोक्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न उठाइयो । त्यसपछि कार्यविधि नबन्दा सवारीसाधन प्रयोगविहीन बने । कहिलेकाहीँ सरकारी निर्देशन आउँदा दुई÷चार दिन चलाइन्थ्यो, फेरि थन्क्याइन्थ्यो । खुला आकाशमुनि बर्सौंदेखि थन्किएका बस र भ्यान घामपानीले चल्नै नसक्ने अवस्थामा छन् । अधिकांश बसका एसी बिग्रिसकेका छन् । झ्याल खोल्न नमिल्ने संरचना भएका ती बस एसीबिना चलाउनै कठिन छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी बस्नेत भन्नुहुन्छ, “एसी नबनाई बस सञ्चालन गर्न गाह्रो छ तर मिस्त्री नै पाइएको छैन ।” यही चैत १८ गतेबाट एउटा बस लुम्बिनी–भैरहवा रुटमा चलाइए पनि तेस्रो दिनपछि सञ्चालन रोकिएको उहाँले बताउनुभयो । बस सञ्चालनका लागि प्राविधिक अभाव अर्को समस्या छ । बस र भ्यान मर्मत गर्न न कोषसँग प्राविधिक छन्, न त लुम्बिनीआसपास यस्ता सवारी बनाउन सक्ने दक्ष जनशक्ति । चार्जिङ स्टेसनसमेत लामो समय प्रयोगविहीन हुँदा बिग्रिएको छ । अहिले बस चार्ज गर्न भैरहवासम्म ल्याउनुपर्र्ने बाध्यता छ ।

यसबिचमा भ्यानहरू पनि दुरुपयोग भएका छन् । केही अधिकारीले कार्यालय प्रयोजनमा प्रयोग गरे, केही बिग्रिएर ग्यारेजमा थन्क्याइए । हाल छ वटा भ्यान बिग्रिएको अवस्थामा छन्, एउटा बसको सिसासमेत फुटेको छ । यो परियोजनामा सरकारले करिब साढे तीन करोड रुपियाँ भन्सार शुल्कसमेत बेहोरेको थियो । साथै दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान, चार्जिङ स्टेसन, सोलार प्लान्ट र सोलार चार्जिङ स्टेसन निर्माणका लागि झन्डै २८ करोड खर्च गरिएको थियो । तीन साताअघि पर्यटन मन्त्रालयले यी बस काठमाडौँ पठाउने निर्णय ग¥यो ।  

तर प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट आएको चासोले यो निर्णय फेरियो । प्रधानमन्त्री कार्यालयबाटै लुम्बिनीमै बस सञ्चालन गर्न निर्देशन आएपछि बस काठमाडौँ पठाउने प्रव्रिmया रोकियो र पुनः सञ्चालन प्रयास सुरु भयो । मर्मत खर्च, प्राविधिक अभाव र स्पष्ट कार्यविधि कमी बस सञ्चालनका मुख्य समस्या हुन् । कोषका अनुसार यी सवारी मर्मत गर्न मात्रै एक करोड रुपियाँभन्दा बढी खर्च लाग्ने अनुमान छ, जुन रकम हाल उपलब्ध छैन ।

त्यस्तै कानुनी जटिलता पनि अर्को महìवपूर्ण समस्या छ । सुरुमा सरकारी नम्बर प्लेटका कारण पर्यटक बोक्न नमिल्ने अवस्था बनेको थियो । पछि लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका चार जना कानुनका विद्यार्थीले दायर गरेको रिटपछि अदालतले हरियो नम्बर प्लेटको बाटो खोलिदियो । त्यसपछि मात्रै पर्यटक बोक्न कानुनी प्रबन्ध भयो ।

पर्यटक बोक्न कानुनी सहजता आए पनि भाडा कति लिने भन्ने विषय अर्को समस्या छ । अहिले पनि दुई दिन बस निःशुल्क रूपमा चलाइयो । तर दीर्घकालीन सञ्चालनका लागि आर्थिक कार्यविधि आवश्यक देखिएको छ । यही अभावले विगतमा पनि सेवा रोकिएको थियो । 

लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ भने बस सञ्चालनका लागि आशावादी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मर्मत गरेर भए पनि सबै बस सञ्चालन गर्ने तयारीमा छौँ ।” माथिबाट जे निर्देशन आउँछ त्यही अनुसार अघि बढिने बताउँदै उहाँले भन्नुभयो, “मन्त्रालयले कार्यविधि बनाएर पठाए हामीले यसलाई लागु गर्छौं ।”

लुम्बिनीलाई तिलौराकोट, रामग्राम र देवदह जस्ता ऐतिहासिक बौद्धस्थलसँग जोड्ने उद्देश्यले ल्याइएका यी विद्युतीय सवारी साँच्चै सञ्चालनमा आए भने धार्मिक पर्यटनमा ठुलो योगदान पुग्ने सरोकारवाला बताउँछन् । यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले निःशुल्क ‘धम्म यात्रा’ अन्तर्गत विद्युतीय बसको निःशुल्क सेवा लिएका थिए ।   

Author
लक्ष्मण पौडेल

उहाँ गोरखापत्रका लागि भैरहवाबाट रिपोर्टिङ गर्नुहुन्छ ।