• १८ वैशाख २०८३, शुक्रबार

असिना पानीले तुलसीपुरमा लाखौँको तरकारी नष्ट

blog

असिनाले क्षति पुर्याएको तरकारी खेती ।

गोकर्ण पौडेल

तुलसीपुर, वैशाख १८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–२ मा बिहीबार दिउँसो आएको असिना पानीका कारण लाखौँ मूल्य बराबरको तरकारी बाली नष्ट भएको छ । असिनाले किसानहरूले खेतमा लगाएको करेला, काँक्रो, बोडी, लौका, टमाटर र खुर्सानी बालीमा पूर्ण रूपमा क्षति पुर्‍याएको हो ।

तुलसीपुर उपमहानगरपालिका–२ का वडाध्यक्ष भीमबहादुर योगीका अनुसार कुमलगढीका किसानहरूले सरस्वती कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती गर्दै आएका थिए । कुमलगढी गाउँबाट मात्रै वार्षिक ५० लाख रुपियाँभन्दा बढीको तरकारी बिक्री हुने गरेको जानकारी दिँदै अध्यक्ष योगीले भन्नुभयो, “कुमलगढी र बालापुर क्षेत्रको उत्पादनले तुलसीपुर बजारको करिब ४० प्रतिशत माग धान्दै आएको थियो, असिनाले ठुलो नोक्सानी पुर्‍याएको छ ।” उहाँले पीडित किसानलाई बीउ र मलको मूल्य बराबरको क्षतिपूर्ति उपलब्ध गराउन पालिका समक्ष आग्रह गरिएको बताउनुभयो ।

विगत २०५४ सालदेखि बेमौसमी खेती गर्दै आउनुभएका स्थानीय किसान जङ्गु चौधरीले आफ्नो ८ कठ्ठा जग्गामा लगाइएको तरकारी पूर्ण रूपमा नष्ट भएको दुखेसो पोख्नुभयो । उहाँले यसअघि वार्षिक ४ लाख रुपियाँसम्मको तरकारी बिक्री गर्दै आउनुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले विपद् र कृषि शाखाबिच समन्वय गरी क्षतिको यकिन विवरण सङ्कलन भएपछि राहतको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि शाखा प्रमुख कुलबहादुर चौधरीका अनुसार पालिकाको 'पकेट क्षेत्र' मानिने यस वडाको करिब १५ बिघा क्षेत्रफलमा लगाइएको तरकारी बाली असिनाले सखाप पारेको छ । कृषि शाखाले वडा कार्यालयसँग मिलेर क्षतिको विस्तृत विवरण सङ्कलन सुरु गरिने जनाएको छ ।