काठमाडौँ, वैशाख १८ गते । बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बासस्थान गुमाउँदा हुन सक्ने स्वास्थ्य समस्या र मनोसामाजिक तनावलाई सम्बोधन गर्न विशेषज्ञ चिकित्सकको टोली शिविरमा परिचालन गरिएको हो ।
शिविरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोली खटिएका छन् । शिविरमार्फत हालसम्म ६८ जना विस्थापित नागरिकले स्वास्थ्य सेवा लिइसकेका छन् ।
विशेष गरी विस्थापित नागरिकमा बालरोग, स्त्रीरोग, दन्त उपचार र मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । बसोबास गुमाउँदा उत्पन्न हुन सक्ने मानसिक तनाव र सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै पाटन मानसिक अस्पतालको टोलीले विशेष परामर्श सेवा दिइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
उपचार प्रक्रिया अन्तर्गत बिरामीलाई शिविरमै निःशुल्क औषधि र परामर्श उपलब्ध गराइएको छ । शिविरमा उपचार सम्भव नहुने जटिल समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि सम्बन्धित सरकारी अस्पतालमा 'रेफर' गर्ने व्यवस्था मिलाइएको छ ।
यसैबिच, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । उक्त शिविरमा आँखा र दाँतको उपचार गराउने सेवाग्राहीको उल्लेख्य आकर्षण देखिएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा पर्याप्त जनशक्ति र औषधिको व्यवस्थापन गरिएको जानकारी दिइएको छ ।