नवलपरासी समाचारदाता
कावासोती, वैशाख ४ गते । राष्ट्रिय गौरवका रूपमा निर्माणधीन पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड सात वर्षमा निर्माण सम्पन्न हुने भएको छ ।
४२ महिनामा सम्पन्न गर्ने गरी ११३ किलोमिटर सडक चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले ठेक्कामा लिएको सात वर्ष पुग्न अब तीन महिना मात्रै बाँकी छ । सो अवधिभर निर्माणको काम सकेर सरकारलाई सडक हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाको ठेकेदार पक्षले दाबी गरेको छ । आगामी साउन ८ गते सम्पन्न हुने गरी काम भइरहेको र फेरि अब म्यादसमेत नथपिने गरी अन्तिम म्याद दिइएको बुटवल–नारायणगढ सडक आयोजना अन्र्तगत दाउन्ने–नारायणगढ सडकखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । सडक निर्माण ठेकेदार पक्ष र सरकारले अन्तिम पटक भन्दै २०८३ साउन ८ गतेसम्म एक वर्षका लागि म्याद थप भएको उहाँले बताउनुभयो । अहिलेसम्म भएका काम हेर्दा समयमै सडक बन्न नसक्ने अवस्था आएकोले रातको समयमा पनि सडक निर्माण थालिएको र जनशक्तिको थप परिचालन गरी काम अघि बढेको खनालले बताउनुभयो ।
उहाँले गत वर्ष म्याद थपिएको र अब एक वर्षमै निर्माण सम्पन्न गर्न चाइनिज ठेकेदार पनि सहमत भएको र आयोजनाको दुवैतर्फ चैत मसान्तसम्म ९९ किलोमिटर एकतर्फी कालोपत्रे र ८२ किलोमिटर दोहारो कालोपत्रे सम्पन्न भएको बताउनुभयो । गैँडाकोटदेखि दाउन्नेसम्म एक खण्ड र दाउन्नेदेखि बुटवलसम्म अर्को खण्ड गरी दुई खण्डमा निर्माण थालिएको यो सडकको गैँडाकोटदेखि दाउन्नेसम्म ६१.५ किलोमिटर चार लेन र चार किलोमिटर तीन लेनको कालोपत्रे गरिएको छ । सो सडकखण्डमा १२ वटा ठुला र २२ वटा साना पुल निर्माण पूरा भएका र सबै पुल सञ्चालनमा आएको खनालले बताउनुभयो । उहाँका अनुसार अहिले गैँडाकोटदेखि बुटवलसम्म सडकको दायाँबायाँ रङरोगनको काम र डिभाइडर राख्ने काम भइरहेको छ ।
दाउन्नेदेखि बुटवलसम्मको अर्को खण्डको चैत मसान्तसम्म ४४ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । पश्चिम दाउन्ने खण्डमा चार किलोमिटर ढलाइ मात्र बाँकी रहेको र ८० प्रतिशत काम सम्पन्न भएको छ । थपिएको म्यादभित्र सडक सम्पन्न हुने दाउन्ने–बुटवल सडकखण्डका सूचना अधिकारी विकास खनालले बताउनुभयो । २०७५ को असार महिनामा सडकको ११३ किलोमिटर निर्माण सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले दुई खण्ड सडकको १६ अर्ब ९९ करोड रुपियाँमा ठेक्का लिएको र २०७८ साउनमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।