अमरराज नहर्की
तनहुँ, वैशाख ४ गते । सङ्घीय सरकारले आगामी शैक्षिक सत्रका लागि तय गरेको समयतालिकालाई चुनौती दिँदै तनहुँका स्थानीय तहले विद्यालयमा पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि यहाँका पालिकाले आफ्नै समयतालिका लागू गरेका हुन् ।
संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्दै यहाँका अधिकांश पालिकाले सङ्घीय निर्देशन पर्खनुभन्दा अघि बढेर विद्यालय सञ्चालनको निर्णय गरेका छन् ।
व्यास नगरपालिकाले वैशाख ३ गतेदेखि भर्ना अभियान सुरु गरी ७ गतेदेखि नै नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले विज्ञप्तिमार्फत शैक्षिक सत्रलाई व्यवस्थित बनाउन र विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । नगरपालिकाले सङ्घीय सरकारले तोकेका अन्य शैक्षिक कार्यक्रम भने १५ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यस्तै, आँबुखैरैनी गाउँपालिकाले वैशाख २ गतेदेखि नै भर्ना र पठनपाठन सुरु गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संविधान र प्रचलित कानुनले दिएको अधिकार प्रयोग गर्दै कार्यपालिकाको निर्णयअनुसार शैक्षिक क्यालेन्डर लागू गरिएको बताउनुभयो ।
बन्दीपुर गाउँपालिकाले पनि भर्ना अभियान र पठनपाठन सुरु गरिसकेको छ भने भानु नगरपालिकाले समेत छिट्टै विद्यालय सञ्चालनको तयारी गरेको छ ।
स्थानीय तहले स्वायत्त अधिकारको अभ्यास गरे पनि सङ्घ र स्थानीय तहबीचको फरक समयतालिकाले शैक्षिक क्षेत्रमा केही अन्योल समेत सिर्जना गरेको छ । फरक–फरक मितिमा विद्यालय खुल्दा अभिभावकहरू रनभुल्लमा परेका छन् । कतिपय विद्यालय सञ्चालनमा आइसकेका छन् भने कतिपय विद्यालय अझै सङ्घीय सरकारको निर्णय कुरेर बसेका छन् ।