• ६ वैशाख २०८३, आइतबार

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

blog

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिँचाइमन्त्री सीता चौधरी ।

गोकर्ण पौडेल

तुलसीपुर, वैशाख ४ गते । दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता  बिहीबारदेखि तुलसीपुर उपमहानगरपालिका वडा १७ मा रहेको बेलझुण्डी रङ्गशालामा सुरु भएको छ । 

लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिँचाइ मन्त्री सीता चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका खेलाडीहरुको सहभागिता रहेको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागि भौतिक पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई प्राथमिकतामै राखिएको बताउनुभयो । 

उहाँले खेल क्षेत्रले खेलाडीहरुमा अनुशासनको विकासका साथै समाजमा नेतृत्वदायी भूमिका रहने बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद  परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रदेशको कूल बजेटको ०.१३ प्रतिशत मात्रै विनियोजन गरेकाले खेल र खेलाडिको विकासका लागि काम गर्नका लागि कठिनाइ भएको बताउनुभयो । 

उहाँले कक्षा १० र १२ को परीक्षाका कारण रनिङशिल्ड प्रतियोगिता समयमै आयोजना गर्न कठिनाइ भएको बताउनुभयो । सदस्यसचिव गौतमले पछिल्लो समय खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रसमेत उदासीन बन्दै जाँदा खेल आयोजना गर्नका लागि चुनौती थपिएको बताउनुभयो ।  

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले तीनै तहका सरकारबिच समन्वय, सहकार्य सहयोग भए मात्रै खेल क्षेत्रको विकास हुने बताउनुभयो । खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियारले प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, एथलेक्टीस, भलिबल र कबड्डी खेल समावेश गरिएका छन् । 

उद्घाटन कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकालाई सम्मान गरिएको छ ।