• १८ फागुन २०८२, सोमबार

उम्मेदवार आमसभा र कोणसभामा व्यस्त

blog

भक्तिविलास पोखरेल

गाईघाट, फागुन १८ गते  । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आयोगले तोकेको प्रचारप्रसार गर्न पाउने अवधि एक दिन मात्र बाँकी रहँदा आइतबार उदयपुरका दुई वटै निर्वाचन क्षेत्रमा चुनावी आमसभा, कोणसभा र र्‍याली व्यापक भएका छन् । 

उम्मेदवारी दर्ता गरेदेखि नै घरदैलो अभियानमा व्यस्त रहेका राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवार आइतबार भने ठाउँ ठाउँमा आयोजित र्‍याली, कोणसभा र आमसभामा व्यस्त भएका हुन् । 

आआफ्ना प्रतिबद्धतापत्र, पोस्टर, पम्प्लेट, झन्डा र ब्यानरसहित घरदैलो अभियान सकेर आमसभामा जुटेसँगै आममतदातामा चुनावी माहोल एकाएक चुलिएको छ । पार्टीहरूले बनाएका आआफ्नै चुनावी नारा र गीतले चोक, बजार र गाउँबस्ती गुञ्जायमान भएको छ । चुनावमा होमिएका दल र उम्मेदवार पार्टीको आन्तरिक समीकरण मिलाउने, मतदाता रिझाउने र विकासनिर्माणका विभिन्न एजेन्डा लिएर प्रचारप्रसार गर्दै आममतदाताको घर घर गएर भोट माग्ने काम सकेर गाईघाट, कटारी, बेल्टारलगायतका जिल्लाका मुख्य बजारमा केन्द्रित सार्वजनिक कार्यक्रममार्फत भोट माग्न थालेका हुन् ।

उदयपुरको क्षेत्र नं. २ मा नेकपा (एमाले) का अमरबहादुर रायमाझी, नेपाली कांग्रेसका रामकुमार राई, नेपाली कम्युनिस्ट पार्टीका सुरेशकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्य लामाबिच प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ ।

नेपाली कांग्रेसका रामकुमार राईलाई जनतामाझ दह्रो पकड भएको उम्मेदवारका रूपमा लिइएको छ । कांग्रेस सभापति हिमाल कार्कीका अनुसार अघिल्लो निर्वाचनमा कांग्रेस र वाम गठबन्धनका साझा उम्मेदवार जगन्नाथ खतिवडाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कार्की १० हजार ३७९ मत ल्याउन सफल हुनुभएको थियो । अर्का उम्मेदवार सुरेश राई २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ परिपक्व नेता भएको र पार्टी एकीकृत भएको अवस्थामा उहाँलाई उम्मेदवार बनाएकाले आमकार्यकर्ता र मतदातासमेत उत्साहित बनेको नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेता राममणि पोखरेलले बताउनुभयो ।

त्यस्तै नयाँ शक्ति भएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी अभियान तीव्र पारेको छ । रास्वपाका अध्यक्ष चित्रकुमार कार्कीले जेनजी आन्दोलनपछि देखा परेको नयाँ शक्तिको नेतृत्व रास्वपाले गरेको बताउनुभयो । 

खास गरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिए पनि चुनावी माहोल भने फरक ढङ्गले अगाडि बढेको मतदाता बताउँछन् । विगत करिब दुई दशकदेखि नेपाली कांग्रेसको एकछत्र प्रभाव रहँदै आएको उदयपुर क्षेत्र नं. १ को यसअघिको चुनावी अभ्यासलाई फरक बनाएको छ । विगत लामो समयदेखि नेपाली कांग्रेसको बलियो आधार मानिँदै आएको यस क्षेत्रमा चार पटक लगातार डा. नारायण खड्काले कांग्रेसको प्रतिनिधित्व गर्दै आएको भए पनि यस पटक कांग्रेसले पूर्वजिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । बस्नेत पार्टी सङ्गठनमा लामो समय योगदान दिएका नेता हुनुहुन्छ । 

कांग्रेसका लागि यो निर्वाचन केवल जितहारको प्रश्न मात्र नभएर विगतको विरासत जोगाउँदै नयाँ नेतृत्व स्थापित गर्ने अवसरका रूपमा लिएको र केन्द्रीय नेतृत्व परिवर्तनसँगै जिल्ला तहमा पार्टीभित्र अभूतपूर्व एकता भएकाले निर्वाचनमा आफूहरू सफल हुने सभापति हिमाल कार्कीको दाबी छ । 

पछिल्ला सङ्घीय निर्वाचनमा यस क्षेत्रमा निरन्तर पराजय बेहोर्दै आएको नेकपा (एमाले) ले यस पटक भने स्थानीय अनुभवी नेता दुर्गाकुमार थापालाई उम्मेदवार बनाएको छ । थापाले कृषि विकास, पूर्वाधार निर्माण, पर्यटन प्रवर्धन तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गरेकाले आफ्नो पक्षमा मतपरिणाम आउनेमा विश्वस्त हुनुहुन्छ । 

त्यस्तै विभिन्न कम्युनिस्ट पार्टीको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले नेता बलदेव चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी २०७४ सालमा नेकपा (एमाले) बाट त्रियुगा नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रबाट पारसमणि गेलाललाई उम्मेदवार बनाएको छ । उदयपुरको तत्कालीन हडिया गाविसको ज्यामिरेमा जन्मिएका गेलाल हाल इटहरीमा व्यवसाय गर्दै आएका व्यक्ति हुनुहुन्छ ।