अनिल पराजुली
हेटौँडा, फागुन १९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि हुने मतदानको मतगणनास्थल तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेटौँडा–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयलाई मतगणनास्थल तोकेको हो ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले सोमबार सूचना जारी गर्दै मकवानपुर जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ को मतगणना विद्यालयको ‘ए’ ब्लक भवनमा र क्षेत्र नं. २ को मतगणना ‘बी’ ब्लक भवनमा गरिने जानकारी दिनुभयो । सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणनाको मिति र समय प्रकाशन गरिने उहाँले बताउनुभयो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक लाख ५३ हजार ३७६ महिला र एक लाख ६१ हजार ९५३ पुरुष गरी कूल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जिल्लाभर १६७ मतदानस्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँ दल तथा स्वतन्त्र उम्मेदवारसहित ४४ जनाको उम्मेदवारी कायम रहेको जनाइएको छ ।