• १९ फागुन २०८२, मङ्गलबार

भरुवा बन्दुकसहित दुईजना पक्राउ

blog

प्रहरीले बरामद गरेको भरुवा बन्दुक । तस्बिर : अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, फागुन १९ गते ।
मकवानपुरको थाहा नगरपालिका–४, धारापानीबाट मकवानपुर प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ  । प्रहरीले थाहा नगरपालिका–४ धारापानी हरिकेसी टोलबाट ५४ वर्षीय कुमार रायमाझी र २७ वर्षीय विक्रम रायमाझीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

प्रहरीले उहाँहरुको साथबाट नाले अवैध घरेलु भरुवा बन्दुक एक थान, सानो सानो (थोरै/थोरै) पोका पारिएको बारुद, एस्थलिन लेखिएको प्लाष्टिकको डिब्बा भित्र स–सना फलामका टुक्राको छर्राहरु र सलाईको बट्टा, सलाईको काटीहरु बरामद गरेको छ । कुमार रायमाझीको घर खानतलासी गर्दा बन्दुक, बारुद र फलामका छर्राहरू फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उक्त बन्दुक विक्रम रायमाझीले राखेको कुमारले प्रहरीलाई बताएपछि प्रहरीले विक्रम रायमाझीलाई पनि पक्राउ गरेका थियो ।

प्रहरीले कुमारको घरबाट एक थान भरुवा बन्दुक, सानो–सानो पोकामा राखिएको बारुद, फलामका टुक्राको छर्राहरू र बारुदको भाग निकालिएको सलाई बरामद गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई हातहतियार खरखजानासम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद थप अनुमती लिई थप अनुसन्धान सुरु गरिएको छ ।