• १९ फागुन २०८२, मङ्गलबार

लमजुङका मतदान स्थलमा सामग्रीसहित पुगे कर्मचारी

blog

निर्वाचन सामाग्री लिएर मतदान केन्द्र जाँदै कर्मचारी । तस्बिर : नवीनाज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन १९ गते । लमजुङमा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री लिएर सबै मतदान केन्द्रमा पुगेका छन् ।

सदरमुकाम बेँसीसहरबाट मतपत्रसहितका निर्वाचन सामग्री लिएर कर्मचारी कार्यक्षेत्रमा पुगेका हुन् ।मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीले आइतबार नियुक्ति पत्र लिएपछि सोमबार निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिनुभयो ।

 निर्वाचन कार्यालयले मतपत्रसहित पचास प्रकारका निर्वाचन सामग्री मतदान स्थलका लागि पठाएको छ । कर्मचारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र र पेस्की रकम लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने ५० प्रकारका सामग्री लिएर कर्मचारी गाउँ खटिएका हुन् । 

जसमा मतदानका लागि मतदाता नामावली, मतपत्र, भोट हाल्न स्वस्तिक छाप, मसी, मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्ने लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैँची वा ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियो धागो लगायतका निर्वाचन सामग्री रहेका छन् । 

 यस्तै बोरा सिलाउन सियो, नामावली रुजु गर्न डटपेन, कागजी तथ्याङ्क सङ्कलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, टर्च लाइट, झोला, प्राथमिक उपचारका सामान र औषधी, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसी लगायत सामग्री मतदान अधिकृतलाई जिम्मा लगाएर पठाइएको निर्वाचन कार्यालय प्रमुख यादवराज आचार्यले बताउनुभयो । 

निर्वाचनका लागि लमजुङमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित कुल एक हजार एक सय ५२ जना रहेका छन् ।

कर्मचारीबाहेक प्रत्येक केन्द्रमा स्वयंसेवक पनि परिचालन गरिने छ । एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा एक सय ३० मतदान स्थलमा एक सय ९२ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र रहेको छ ।

लमजुङमा ११ दल र एक स्वतन्त्र गरी १२ जना उम्मेदवार रहेकोमा एक जना मात्र प्रत्यक्षतर्फ महिला उम्मेद्वार  छन् ।एक लाख ३७ हजार १२४ जना मतदातामा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० जना रहेका छन् । पुरुष भन्दा महिला मतदाताको सङ्ख्या एक हजार ९२४ ले बढी छ ।