काठमाडौँ, फागुन १९ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिनुभएको हो।
फागुन १८ गते रामेछाप नगरपालिका–२, सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए। घाइतेहरूको उद्धार गरेर अहिले छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ। निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी साधन दुर्घटनामा परेको हो।
सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने बताउनुभयो। गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीहरू पनि अस्पताल पुग्नुभएको थियो।
छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा. नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्षा (आइसियू) मा उपचार भइरहेको छ। बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत हुनुहुन्छ। घाइतेमध्ये चार महिला र तीन पुरुष हुनुहुन्छ।
मन्थलीबाट मतदान केन्द्र शीतलादेवी मावि सिरुवारी (क), (ख) र वडा ३ को वडा कार्यालय भवन साँघुटार (क) र (ख) मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलगायत कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्रसहितका निर्वाचन सामग्री लिएर जाँदै गरेको ना. ७ ख. ६७६८ नं को निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो।
दुर्घटनामा परी मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको निधन भएको प्रहरीले जनाएको छ। उक्त गाडीमा ११ जना सवार रहेको बुझिएको छ।