• १७ चैत २०८२, मङ्गलबार

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

blog

नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई स्वागत गर्दै राखेप सदस्य सचिव रामचरित्र मेहता ।

काठमाडौँ, चैत १७ गते । नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मन्त्री पोखरेललाई मङ्गलबार आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । खेलकुदमन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ ।

उहाँले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनुपर्ने बताउँदै सम्बन्धित सबैको दक्षताको कदर गर्दै खेलकुदको दीर्घकालीन विकासमा उपयोग गर्ने बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अच्युतम लामिछानेले सबै मिलेर समग्र राष्ट्रको खेलकुदलाई माथि उठाउनुपर्ने बताउनुभयो । उहाँले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)लाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको पनि औल्याउनुभयो । 

राखेपका सदस्य सचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्था, राष्ट्रिय खेल सङ्घ, कर्मचारी दरबन्दी, खेलाडीको रोकिएको पुरस्कार, मिसन–२०२६ अन्तर्गत हाल रोएिको विशेष तयारी प्रशिक्षण, आन्तरिक स्राेत, ऐन संशोधनलगायतका विषयमा संक्षिप्त जानकारी गराउनुभएको थियो । 

त्यसअघि मन्त्री पोखरेललाई सदस्य सचिव मेहता, राखेप कार्यकारी समिति र बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

राखेपको स्वागतपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाइ पर्फमेन्स सेन्टर र पौडी पोखरीको निरीक्षण गर्नुभएको थियो ।