प्रवीणकुमार शर्मा
रौतहट, चैत १७ गते । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागार कार्यालय रौतहटबाट फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका–३, रौतहटका २४ वर्षीय अफताब अन्सारी र दुर्गाभगवती गाउँपालिका–५, वडहर्वा,रौतहटका २९ वर्षीय दिपेश साह सोनार छन् ।
अन्सारीलाई रौतहट प्रहरीले र सोनारलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा गौर–३, पोखरिया टोलबाट चोरी मुद्दाका दोषी अन्सारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।
अन्सारीलाई नियन्त्रणमा लिई कारागार कार्यालय पठाइएको उहाँले बताउनुभयो । त्यस्तै, जबरजस्ती करणी मुद्दाका दोषी सोनारलाई इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले ईश्वरपुर नगरपालिका–६, बयलबासबाट सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
सोनारलाई जिल्ला कारागार कार्यालय सर्लाहीको जिम्मा लगाइने उहाँले बताउनुभयो ।कारागार कार्यालय रौतहटबाट अझै १२२ जना कैदीबन्दी फरार रहेको कारागार कार्यालय रौतहटका प्रमुख प्रदीप पौडेलले जानकारी दिनुभयो ।