• १९ फागुन २०८२, मङ्गलबार

सर्लाहीमा ३४ जना कैदीबन्दीले मतदान गर्न पाउने

blog

जनार्जन खत्री

सर्लाही, फागुन १९ गते । सर्लाहीमा ३४ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । 

कारागार कार्यालय मलङ्गवामा कैद भुक्तान गरिरहेकामध्ये मतदाता नामावलीमा नाम भएका ३४ जना कैदीबन्दीले बिहीबार हुन लागेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । 

निर्वाचन आयोगले नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी र कैदीबन्दीले समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरेको छ । 

सोही व्यवस्था अनुसार सर्लाहीमा कारागार कार्यालय मलङ्गवासहित चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

कारागार कार्यालय मलङ्गवा, जिल्ला समन्वय समिति मलङ्गवाको तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको १० नं. गण कविलासी अगर्वा अगाडिको गोलघर र पाँचकुमारी खेल मैदान पनुर्वासमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

 जिल्ला निर्वाचन अधिकारी पौडेलका अनुसार निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार सर्लाहीमा समानुपातिकमा मतदान गर्न पाउने ३४ जना कैदीबन्दीसहित कर्मचारी, सेना र प्रहरीसमेत गरेर छ हजार ८७ जना मतदाता रहेका छन् । 

अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरेर तीन जना मात्र परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।