• १४ पुस २०८२, सोमबार

बैँक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

blog

काठमाडौँ, पुस १४  गते ।  नेपाल बैँकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको ‘बैँकिङ क्षेत्रमा बढेका चुनौती र गर्नु पर्ने काम’ विषयक कार्यक्रममा उहाँले बैँकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढेको उल्लेख गर्नु भयो । “ऋण दिने र लिने विषय कानुनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद् छ”, उहाँले भन्नु भयो । 

अध्यक्ष कोइरालाले कतिपय व्यक्तिले बिना कुनै आधार ऋण मिनाहालगायत आश्वासन दिएको उल्लेख गर्दै उहाँले त्यसप्रकारका अतिरञ्जित विषयमा नफस्न पनि आग्रह गर्नु भयो । बैँकिङ अन्य क्षेत्रको तुलनामा बढी पारदर्शी भएको र बैँकमा समस्या हुँदा अन्य क्षेत्रमा पनि असर पर्ने भएकाले त्यसतर्फ सचेत रहनु पर्नेमा  उहाँको जोड थियो ।

पचास हजारभन्दा बढीलाई रोजगारी दिने यो क्षेत्रमा असर पर्दा अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले संयमता अपनाउन जरुरी रहेको उहाँको भनाइ थियो । वर्तमान समयमा बैँकिङ क्षेत्रमा पर्याप्त तरलता रहे पनि सोअनुसार माग भने नभएको अध्यक्ष कोइरालाले उल्लेख गर्नु भयो । 

पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक उतारचढावले पनि कर्जा प्रवाह कम भएको हुनसक्ने उल्लेख गर्दै उहाँले लगानीकर्ताको मनोबल पनि कमजोर भएको बताउनु भयो । यद्यपि कर्जा प्रवाहका सम्बन्धमा केन्द्रीय बैँकले पनि केही प्रयास भने गरेको उहाँको भनाइ थियो ।

त्यस अवसरमा बैँकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैँकको नियमन बढी भएको बताउनु भयो । उहाँले केन्द्रीय बैँकले उदार र विवेकशील नियमन गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।

“नेपालको बैँकिङ क्षेत्र दक्षिण एसियामा राम्रो छ, यद्यपि केन्द्रीय बैँकको नीति नियन्त्रणमुखी बढी भयो कि भन्ने पनि छ, हरेक क्षेत्रमा केन्द्रीय बैँकले कडाइ गर्न खोज्नु राम्रो नहुन सक्छ”, उहाँले भन्नु भयो । बैँकहरू स्वनियमनमा बस्नु राम्रो हुने उल्लेख गर्दैै अनावश्यक नियमहरू हटाउनुपर्नेमा उहाँले सुझाव दिनु भयो । 

नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैँक तथा वित्तीय क्षेत्रको योगदान पाँच प्रतिशत रहेको उल्लेख गर्दै उहाँले बैँकलाई स्वतन्त्र काम गर्न दिने हो भने अझ ठुलो योगदान दिनसक्ने धारणा राख्नु भयो ।

संयोजक डा. कार्कीले नेपाल–भारतबिच खुला सीमा भएकाले नेपालीहरूले राम्रो ब्याजदर पाउने लोभमा भारतीय बैँकमा रकम जम्मा गर्न थालेकाले पुँजी पलायन हुन थालेको पनि बताउनु भयो । 

डा. कार्कीले एउटा बैँकले गल्ती गर्दाको असर अर्को बैँकले भोग्नु परेको उल्लेख गर्दै यस्ता विषयमा केन्द्रीय बैँक सचेत हुनु पर्ने उहाँको भनाइ थियो । आफूले तयार पारेको प्रतिवेदनमा केन्द्रीय बैँकको संरचनागत सुधार, नियमनमा नरम नीतिलगायतका विषयमा सुझाव दिएको बताउनु भयो । उहाँले बैँकिङ क्षेत्र सुधारका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन सुझाव दिएको उल्लेख गर्नु भयो । रासस