• २२ चैत २०८२, आइतबार

भिरबाट लडेर गोठालाको मृत्यु

blog

प्रेमराज सिम्खडा

कालीकोट, चैत २१ गते । कालीकोटको रास्कोट नगरपालिका वडा १ मा एक जना गोठालाको मृत्यु भएको छ । सिराडी धौले भिरमा बाख्रा चराउन गएका अन्दाजी बर्ष २६ का दिपक बमको भिरबाट लडेर मृत्यु भएको हो । 

बिहानै बाख्रा चराउन गएका रामपुर निवासी बम सिराडी धौले भिरबाट अन्दाजी १५० मिटर तल खस्नु भएको थियो । भिरबाट लडेको खबरपछि स्थानीय युवा घटनास्थलमा पुगेर भिरबाट शवलाई निकालेर घरमा ल्याएका छन् । 

स्थानीय गगन बमले भिरबाट लडेको जानकारीपछि घटनास्थलमा जाँदा मृत्यु भएको अबस्थामा आफूहरुले शवलाई भेटाएको बताउनुभयो । हिउदको समयमा बाख्रा चराउने ठाउँ निकै भिरालो छ । कुनै समयमा खर काट्न गएका महिला वा पुरुष गोठाला गएकाहरु प्राय यहाँ भिरबाट लडेर मृत्यु हुने गरेको छ । यो भिरमा कहिलेकाही बाख्रा समेत लडेर मर्ने गर्दछन् । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बरमा यादवले भिरबाट युवा लडेको खबर आएको र त्यसपछि नजिकको प्रहरी युनिटलाई जानकारी गराएको बताउनुभयो । स्थानीय युवाले शवलाई घरमा ल्याएर राखेका छन् । भोलि अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ ।