• २१ चैत २०८२, शनिबार

गेटा आँखा अस्पताल : उपचार सेवामा अब्बल

blog

सन् १९८१ मा स्थापना भएको हो, गेटा आँखा अस्पताल । ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ भन्ने आदर्श वाक्य रहेको नेपाल नेत्रज्योति सङ्घको छातामा रही सुदूरपश्चिम प्रदेशमा तीन वटा सेकेन्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । सबै स्थानीय तहमा कम्तीमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप हालसम्म अस्पतालले प्रदेशका नौ वटै जिल्लामा आँखा उपचार सेवालाई विस्तार गरिसकेको छ । करिब ८० प्रतिशत समस्या त्यही केन्द्रमार्फत समाधान हुने तर केही जटिल समस्या भएमा टेलिमेडिसिनको माध्यमबाट गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श र उपचार गरिने भएकाले ती उपचार केन्द्रबाट थोरै मात्रै आँखाका बिरामीलाई अस्पतालमा रिफर गरिन्छ ।

गेटा आँखा अस्पतालमा आँखा परीक्षण गराउन आउने बिरामीको करिब ३५ प्रतिशत बिरामी भारतीय नै हुन्छन् भने शल्यव्रिmया गराउन आउने बिरामीमध्ये करिब ५५ प्रतिशत भारतीय हुने गरेको तथ्याङ्कले प्रमाणित गरेको छ । अस्पतालले नेपालीका लागि सुदूरपश्चिम प्रदेशका तीन स्थान महेन्द्रनगर, डडेलधुरा र टीकापुरमा सेकेन्डरी स्तरका अस्पताल स्थापना गरी सेवा प्रवाहका साथै धनगढीमा हप्तामा एक पटक शल्यक्रिया सेवा प्रदान गर्ने गरेको छ । चिकित्सक उपलब्ध भएमा कन्चनपुरको बेलौरीमा पनि महिनामा एक पटक शल्यक्रिया सेवा प्रदान गरिन्छ । बाह्य कार्यक्रम अन्तर्गत घरदैलोमा नै सेवा पु¥याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा गई शिविरसमेत सञ्चालन गर्ने हुनाले अस्पतालमा हुने शल्यक्रियामा नेपालीभन्दा भारतीय नागरिक नै बढी हुने तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस अस्पताल र अन्तर्गतमा जम्मा दुई लाख ७९ हजार  ८३३ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको थियो जसमध्ये २२ हजार १५२ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । सोही आवमा ३२ हजार छ सय ३० जना भारतीय बिरामीलाई सेवा प्रदान गरिएको तथा सात हजार सात सय ४२ जना भारतीय बिरामीको मोतिविन्दुलगायत शल्यक्रिया भएको थियो । 

अस्पताल र शाखाबाट उपलब्ध गराइने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संस्थाबाट सहयोग जुटाई यस प्रदेशका नौ वटै जिल्लामा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहुँच बढाउन वर्षमा ६० भन्दा बढी स्थानमा अस्पतालले आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल नेत्रज्योति सङ्घको नीति अनुसार आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न बाध्य नहुन् भन्ने हेतुले जनताको घरदैलोमै सहज, सुलभ र सस्तो गुणस्तरीय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । जसबाट धेरै गरिबीको रेखामुनि रहेका नेपाली नागरिकले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवासमेत पाइरहेका छन् ।

सन् १९८० मा गरिएको सर्वेक्षण अनुसार नेपालमा अन्धोपनाको सिकार भएका जनताको सङ्ख्या ०.८४ प्रतिशत हुँदा सुदूरपश्चिममा १.०२ प्रतिशत जनसङ्ख्यामा अन्धोपन थियो । त्यसै तथ्यलाई मध्यनजर गरी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिका– ४ मा गेटा आँखा अस्पताल स्थापना भएको थियो । यस अस्पतालले आँखाको स्वास्थ्यमा उल्लेखनीय सेवा दिएको हुँदा सकारात्मक नतिजा प्राप्त हुँदै गयो जस अनुसार २००८ मा गरिएको सर्वेक्षणमा सुदूरपश्चिममा अन्धोपना ०.४१ प्रतिशतमा झ¥यो । हालसालै गरिएको सर्वेक्षणमा सुदूरपश्चिममा अन्धोपना प्रतिशत देशैभरिमा सबै भन्दा थोरै ०.२१ प्रतिशतमा झरेको छ । अन्धोपनामा आएको यो सुधारमा मुख्यतया गेटा आँखा अस्पतालको योगदान रहेको निर्विवाद छ । अस्पतालको अभिलेख अनुसार स्थापनाकालदेखि २०८२ फागुनसम्म गेटा आँखा अस्पताल र अन्तर्गतका आँखा अस्पताल तथा उपचार केन्द्रहरूले ५५ लाख ८७ हजार १३३ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ । जसमध्ये सात लाख ३४ हजार दुई सय सात जनाको मोतिविन्दुलगायत आँखाको अन्य शल्यक्रिया गरेको छ । स्थापनाकालदेखि २०८२ फागुनसम्म जम्मा २० लाख पाँच हजार सात सय ८३ (३६ प्रतिशत) जना भारतीय आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरिएको छ जसमध्ये चार लाख २७ हजार आठ सय ४४ (५८ प्रतिशत) जनाको शल्यक्रिया गरिएको छ ।

हाल एक दर्जन दक्ष नेत्र विशेषज्ञलगायत करिब दुई सयजना विभिन्न तहका प्राविधिक र अन्य कर्मचारी रहेको गेटा अस्पताल एक वैशिष्ट्य केन्द्रका रूपमा विकास भएको छ । यहाँ आँखाको उपचारसम्बन्धी लगभग सबै उपविशेषज्ञता सेवा उपलब्ध हुनुका साथै चिकित्सा शिक्षा प्रदान गर्ने संस्थानको रूपमा समेत सक्षम भएको छ । यहाँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग सम्बन्धन प्राप्त डिप्लोमा इन अफ्थाल्मिक साइन्समा मा अध्ययनरत ७९ जना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सम्बन्धनमा स्नातकोत्तर तहमा दुई जना चिकित्सक अध्ययनरत छन् । नजिकै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुले भविष्यमा उक्त विश्वविद्यालयसँगको सहकार्यमा आँखा स्वास्थ्यको क्षेत्रमा थप शैक्षिक कार्यक्रम सञ्चालन हुने यथेष्ठ सम्भावना छ ।

बहिरङ्ग विभागमा ओपिडी, जलविन्दु, रेटिना, युभिया, कर्निया, अकुलोप्लास्टी, बाल क्लिनिक, विशेष (पेइङ), बायोमेट्री तथा माइनर अपरेसन जस्ता सेवा प्रदान गरिन्छ । बिरामीको समस्या अनुसारको उपचारका लागि लाग्ने सामान्य शुल्क तिरेपछि अपरेसन गर्नुपर्ने भए वार्ड तथा शल्यक्रिया कक्षतिर पठाउने गरिएको छ । गेटा आँखा अस्पतालको शल्यक्रिया कक्षमा दैनिक ९०–१०० को हाराहारीमा मोतिविन्दुलगायत आँखासम्बन्धी अन्य शल्यक्रिया हुने गरेको छ । यहाँ आँखासम्बन्धी आवश्यक परीक्षणका लागि सुविधासम्पन्न प्रयोगशाला पनि रहेको छ । गेटा आँखा अस्पताल तथा अन्तर्गतका अस्पताल र उपचार केन्द्रमा आवश्यक उपचार सामग्री र चस्मा आपूर्ति गर्ने स्टोर, चस्मा बनाउने वर्कसप, चस्मा वितरण कक्ष, औषधी वितरण कक्ष जस्ता सबै सेवासमेत उपलब्ध छन् । चार सय शøयाको वार्ड सेवा, १५ वटा सुविधा सम्पन्न क्याबिन, धर्मशाला र निःशुल्क धर्मशाला पनि बिरामीले आआफ्नो सुविधा अनुसार प्रयोग गर्ने गरेका छन् । यस अस्पतालमा रहेका धर्मशालामा भारतीय बिरामी र कुरुवा निःशुल्क रूपमा बस्ने, आफैँ खाना पकाएर खाने व्यवस्था गरिएको छ, जसको उपचार गराउन आउने भारतीय नागरिकले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।

फोहोर जलाउने कार्यलाई पूर्णतया निषेध गरिएको तथा सरसफाइ र वातावरण संरक्षणमा प्रतिबद्ध रहने नीति अनुसार नै सुविधा सम्पन्न फोहोर व्यवस्थापन गृह निर्माण गरिएको छ । अस्पताल परिसरमा बिरामीलगायत सबै आगन्तुक र कर्मचारीका लागि सहुलियत दरमा चमेना गृह (क्यान्टिन) को व्यवस्था छ । अस्पतालका विशेषज्ञ चिकित्सकलगायत जरुरी सेवा सञ्चालन गर्न आवश्यक न्यूनतम जनशक्तिको आवासका लागि कर्मचारी आवास उपलब्ध छ भने अन्य कर्मचारीका लागि यातायात खर्चसहित आकर्षक मासिक तलब, थप काम गरेबापत ओभरटाइम सुविधा, भ्रमण भत्ता, दसैँ खर्च, नियमानुसार बिदा सुविधा, स्वास्थ्य र जीवन बिमा सुविधा, बहान खरिद सुविधालगायत अन्य प्रोत्साहन भत्ता पनि उपलब्ध छन् ।

चार दशकभन्दा बढी समयबाट निरन्तर आँखा स्वास्थ्य सेवामा संलग्न भएर सफलताको उचाइमा पुग्नु, स्वदेशलगायत हामीभन्दा विशाल र विकसित दक्षिण छिमेकी मुलुकबाट उल्लेख्य सङ्ख्यामा बिरामी गेटा आँखा अस्पतालमा उपचारका लागि आउने गरेका छन् । अस्पताल निरन्तर विकासतर्फ लम्किनु कुनै एक व्यक्तिको प्रयासभन्दा पनि नेपाल नेत्रज्योति सङ्घको छत्रछायामा यस अस्पतालको व्यवस्थापन समितिको निर्देशन तथा यस अस्पतालका कर्मठ कर्मचारीको अनुशासन, समर्पण, सेवाभाव र पेसागत दक्षताले नै सम्भव भएको हो । 

विश्व स्वास्थ्य सङ्गठनको घोषणा अनुसार दक्षिण एसियामा सन् २०१७ मा आँखाको सङ्व्रmामक रोग ट्राकोमा उन्मूलन गर्न सफल हुने पहिलो देश नेपाल बनेको थियो । सन् १९८१ मा गरिएको अन्धोपन सर्वेक्षण अनुसार नेपालमा द्विपक्षीय अन्धोपनको दर सबैभन्दा बढी सुदूरपश्चिम (तत्कालीन सुदूरपश्चिम क्षेत्र) मा १.०२ प्रतिशत थियो । सन् २०१९–२१ मा गरिएको सर्वेक्षण अनुसार यो दर घटेर ०.२१ प्रतिशत पुगेको छ, जुन नेपालकै सबैभन्दा कम दर हो । सीमा नजिक बसोबास गर्ने भारतीय परिवारका लागि यो अस्पताल एक प्रकारको परिवारिक आँखा अस्पताल जस्तै बनेको छ । तीमध्ये केही परिवारका सदस्य नियमित रूपमा उपचारका लागि आउने गरेका छन् । हाल तेस्रो पुस्तासम्मका बिरामी यस अस्पतालबाट सेवा लिन आउने गरेका छन् । यसले उनीहरूसँग विशेष किसिमको भावनात्मक सम्बन्ध स्थापित भएको देखाउँछ ।

भारत सरकारले प्रदान गर्ने प्रधानमन्त्री जनआरोग्य योजना अर्थात् आयुष्मान कार्डमार्फत पूर्ण रूपमा निःशुल्क उपचार हुने व्यवस्था हुँदाहुँदै पनि धेरै भारतीय बिरामी विश्वासिलो उपचारका कारण गेटा आँखा अस्पतालमा नै आउन रुचाउँछन् । भारतीय नागरिकले देखाएको यस्तो विश्वासले नेपाल–भारत द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पारेको छ । तुलनात्मक रूपमा गेटा आँखा अस्पतालमा उपलब्ध उपचार सेवा भारतको भन्दा सस्तो रहेको भारतीय बिरामीले बताउने गरेका छन् । सामाजिक राजनीतिक सूचकका रूपमा यस अस्पतालमा आउने भारतीय बिरामीलाई सीमा जाँच विन्दुहरूमा दिइने प्राथमिकता, भारतीय स्थानीय तहका (पञ्चायतस्तरका) नेताहरूले आफ्ना क्षेत्रमा गेटा आँखा अस्पतालद्वारा आँखा शिविर सञ्चालन गर्न आग्रह गर्नु, स्थानीय व्यापारिक कारोबारमा वृद्धि हुनु, सामाजिक सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुनु तथा जनकूटनीतिमा विश्वासिलो वातावरण विकास हुनु उल्लेखनीय पक्ष हुन् ।

नेपाल भारतबिचको परम्परागत सम्बन्धलाई पहिले ‘रोटी–बेटी’ सम्बन्ध भनेर चिनिन्थ्यो । अहिले यो सम्बन्ध विस्तार हुँदै ‘नेत्र–प्रकाश’ सम्बन्धतर्फ उन्मुख भइरहेको देखिन्छ । यहाँ ‘नेत्र’ भन्नाले भारतीय आँखालाई जनाउँछ भने ‘प्रकाश’ नेपाली चिकित्सकीय सेवाबाट प्राप्त दृष्टिलाई जनाउँछ । यसरी सुदूरपश्चिम प्रदेश र भारतको सीमावर्ती क्षेत्रमा नेपाल–भारत सम्बन्धलाई ‘नेत्र–प्रकाश’ सम्बन्धको नयाँ रूपले पनि चित्रण गर्न सकिन्छ ।

यस नेत्र–प्रकाश सम्बन्धले चिकित्सा पर्यटन, जनता–जनताबिचको सम्बन्ध, विदेशी मुद्रा आम्दानी, सांस्कृतिक आदानप्रदान तथा सीमापार स्थानीय संस्थाबिचको सम्बन्ध विस्तारमा महìवपूर्ण योगदान पु¥याएको छ । यसले प्रभावकारी जनकूटनीतिलाई सुदृढ गर्दै सफ्ट पावर प्रदर्शन गर्ने महìवपूर्ण माध्यमका रूपमा पनि काम गरेको छ । गेटा आँखा अस्पतालको अन्तर्राष्ट्रिय दायरा सीमित भए पनि नेपाल नेत्रज्योति सङ्घले देशभरिका २८ वटा आँखा अस्पतालमार्फत वार्षिक रूपमा कम्तीमा १० लाखको हाराहारीमा भारतीय बिरामीलाई प्रदान गर्ने सेवाले नेपाल–भारत सीमापार सम्बन्ध सुदृढ गर्न योगदान पुग्ने छ । नेत्रज्योति सङ्घको सबल नेतृत्व, सुदृढ व्यवस्थापन र पवित्र उद्देश्यको बलियो जगले यस अस्पताललाई आगामी दिनमा अझै बृहत्, विकसित र सफल बनाउने निश्चित छ ।