रमेश विश्वकर्मा
गुल्मी, पुस १४ गते । पश्चिम गुल्मीको मदाने गाउँपालिकाले जातीय विभेद अन्त्यका लागि सहभोजको आयोजना गरेको छ । यहाँको पर्यटकीय स्थल कङ्के देउरालीमा गाउँपालिकाले आयोजना गरेको सहभोजमा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियान्ता, दलित सञ्जालका प्रतिनिधिहरू, पत्रकार, कर्मचारी, सर्वसाधारणलगायतले सहभागिता जनाउनु भएको छ ।
जातीय विभेद सामाजिक अपराध भएको सन्देश व्यवहारमै उतार्न सहभागीहरूले एउटै ठाउँमा बसेर भोजन गर्दै सामाजिक समानताको अभ्यास गर्नु भएको हो । जातीय विभेद अन्त्य गर्न सहभोजले निकै ठुलो सहयोग पुर्याउने यस गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार कानुनमा मात्रै सीमित नराखी व्यवहारमै जातीय विभेद अन्त्यका लागि गाउँपालिका प्रतिबद्ध छ ।
सहभोज कार्यक्रम सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण कदम भएको भन्दै अध्यक्ष कुँवरले छुवाछूत अन्त्य गर्न आम नागरिकले सोचसँगै व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनु भयो । बाहिर छुवाछुत नगरेको जस्तो देखिए पनि व्यवहारमा लागु नभएको भन्दै जातीय आधारमा कसैले छुवाछुत गरेको पाएमा कानुन अनुसार कारबाहीसमेत हुने उहाँले बताउनु भयो ।
दलित सञ्जाल मदाने गाउँपालिकाका अध्यक्ष रमेश परियारले सबैलाई एउटै घरका सदस्यझैँ मानेर व्यवहारमा समानता लागु गर्न आग्रह गर्नु भयो । जातीय विभेद अन्त्यका लागि सहभोजले व्यवहारिक अभ्यास आवश्यक छ भन्ने सन्देश दिएको भन्दै उहाँले सामाजिक समानता र मानवतामा आधारित समाज निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताउनु भयो । कानुनमा मात्रै सीमित नभई व्यवहारमा पनि समानता देखाउन जरुरी रहेको छ ।
त्यस अवसरमा अन्य सहभागीहरूले जातीय विभेद अन्त्यका लागि सबैको सोचाइसँगै व्यवहारमा पनि परिवर्तन आउन आवश्यक रहेको बताउनु भयो । सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण कदम सहभोज भएको हुँदा जातीय विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नु पर्ने उहाँहरूले बताउनु भयो । जातमा होइन मानवतामा विश्वास गर्नु पर्ने, क्षमताका आधारमा सम्मान गर्नु पर्ने र छुवाछूतलाई व्यवहारमै अन्त्य नगरेसम्म यसको कुनै पनि अर्थ नहुने बताइएको छ । सहअस्तित्व, सद्भाव र एकताको सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।
त्यस्तै, ‘मान्छे–मान्छे एउटै हो’ भन्ने सोच समाजमा स्थापित जरुरी रहेको हुँदा स्थानीय तहले विद्यालयको पाठ्यक्रममा नै जातीय विभेद अन्त्यसम्बन्धी विषय समावेश गर्नु पर्ने सहभागीहरूले बताउनु भयो । सम्बन्ध नै सबैभन्दा ठुलो सम्पत्ति भएको उल्लेख गर्दै सम्बन्धलाई अझ नजिक बनाउने उद्देश्यसहित गाउँपालिकाले बजेट नै व्यवस्था गरेर सहभोज कार्यक्रम आयोजना गरेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनु भयो ।