सन्तोष दहित
दाङ, पुस १३ गते । आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दाङबाट विभिन्न राजनीतिक दलहरूले चार जना पत्रकारको नाम सिफारिस गरेका छन्।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलसहित चार पत्रकारको नाम प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका उम्मेदवारका रूपमा सिफारिस गरिएको हो। दाङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसले वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय पूर्व अध्यक्ष विपुल पोख्रेललाई प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको जनाएको छ।
नेपाली कांग्रेस क्षेत्र नं २ ले पोख्रेलसहित करिब १० जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जानकारी दिनु भयो। त्यस्तै, नेपाली कांग्रेस दाङ क्षेत्र ३ ले राष्ट्रिय सभाका लागि पत्रकार अर्जुन गिरीको नाम सिफारिस गरेको छ। गिरीले पार्टीले आफ्नो नाम राष्ट्रिय सभाको उम्मेदवारका रूपमा सिफारिस गरेको जानकारी दिनु भयो। सभामा सिफारिस गरिएका आठ जनामध्ये गिरीको नाम आठौँ नम्बरमा रहेको छ। उहाँ सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराब) को अध्यक्ष पनि हुनु हुन्छ ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङले समानुपातिकतर्फ दुई जना पत्रकारको नाम सिफारिस गरेको छ। नेकपा दाङका सचिव विश्व आचार्यका अनुसार नेपाल पत्रकार महासङ्घका केन्द्रीय निवर्तमान उपाध्यक्ष उदय जिएमको नाम आदिवासी जनजाति कोटाअन्तर्गत समानुपातिकतर्फ सिफारिस गरिएको छ।
त्यस्तै, नेकपाले थारू कोटाअन्तर्गत नेपाल पत्रकार महासङ्घ दाङ शाखाका वर्तमान सहसचिव रामप्रकाश चौधरी (प्रकाश) को नाम पनि समानुपातिकतर्फ सिफारिस गरेको सचिव आचार्यले जानकारी दिनु भयो।