• १३ पुस २०८२, आइतबार

मजदुरी गर्दै पढेर साफीले एमबिबिएस नाम निकालेपछि...

blog

एमबिबिएसमा नाम निकाल्न सफल सत्यनारायण साफी, साथमा आमाबुवा । तस्बिर : जीवछ यादव

जीवछ यादव 

लहान, पुस १३ गते । बरियारपट्टी गाउँपालिका–२, श्रीपुर गाउँको दलित विपन्न समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढेर एमबिबिएस पढ्न नाम निकालेपछि पढाइका लागि आर्थिक सहयोग जुट्न थालेको छ । 

उहाँ एमबिबिएस अध्ययनका लागि  दाङको घोरही मेडिकल क्लेजमा नाम निकाल्न सफल हुनु भएको हो । यो सफलतासँगै उहाँलाई होस्टेल खर्च, शैक्षिक सामग्री, पाठ्यपुस्तक खरिदमा लाग्ने खर्च जुट्न थालेको हो । 

सुरुमा दिनभरी मजदुरी गरेर रातभर पढेर एमबिबिएसमा नाम निकाल्न सफल सत्यनारायण साफीलाई घोराही दाङमा होस्टेलमा लाग्ने खर्च कहाबाट ल्याउने भन्ने चिन्ता थियो ।  यो समस्या सामाजिक सञ्जाल हुँदै मिडियामार्फत् सार्वजनिक भएपछि उहाँलाई आर्थिक सहयोग जुटेको हो । 

बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले गाउँपालिकाको परिषदबाट निर्णय गराएर पाँच वर्ष पढ्न लाग्ने खर्च जुटाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सत्यनारायण साफीको घर पुगेर नै यस्तो विश्वास दिलाउनु भएको हो। यता ग्रिन एन्ड क्लिन फउन्डेसनका सञ्चालिका आशिका तामाङले घर पुगेर नै एक लाख नगद सहयोग गर्नु भएको छ । 

सत्यनारायण साफीका पिता मधुरी साफी वैदेशिक रोजगारीमा गएर कक्षा ११ र १२ विराटनगरमा राखेर पढाउनु भएको थियो । पिता मधुरी साफी वैदेशिक रोजगारीबाट घर फर्केपछि घरायसी समस्या बढ्न थाल्दा निर्माण मजदुरीमा दिनभरी काम गरेर राति पढेको बलमा उहाँ एमबिबिएसमा नाम निकाल्न सफल हुनु भएको हो । 

सत्यनारायण साफी दलित समुदायको मात्रै नभएर समग्र विपन्न समुदायको लागि प्रेरक भएको भन्दै पढाइका लागि थप सहयोग गर्ने बढेका हुन् । छोराको पढाइका लागि सहयोग जुटेपछि परिवार खुसी भएको छ । 

साफी भन्नु हुन्छ, ‘‘मिहिनेत गरेर एमबिबिएसमा नाम निकालेँ । अब सबैको सहयोगले एक दक्ष डाक्टर बनेर देश र समाजको सेवा गर्ने सपना छ ।’ 

छिमेकी गाउँले लेखक रामरिझन यादव भन्नु हुन्छ,‘‘यो संविधान र आरक्षणको देन हो । सत्यनारायण साफीको लगनशीलता र मिहिनेतले अन्य दलित समुदायलाई पनि नजर खुला गरिदिएको छ । अन्य दलित समुदायलाई सवल र सफल नागरिक बनाउन प्रेरणा मिलेको छ ।’’