जनार्जन खत्री
सर्लाही, चैत २२ गते । सर्लाही सदरमुकाम मलङ्गवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रहरीले आइतबार नौ जनालाई पक्राउ गरेको छ ।
मालपोत कार्यालयबाट सात जना र यातायात कार्यालयबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्ष बिशालबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
मालपोतबाट पक्राउ पर्नेहरु लेखापढी व्यवसायी हुन् । सरकार गरेको निर्णय विपरीत कार्यालयभित्र प्रवेश गरेको भन्दै प्रहरीले मालपोत र यातायात कार्यालय अगाडि बसेर लेखापढी तथा अन्य सहजीकरणको काम गर्नेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लगेर राखिएको छ । सरकारको निर्णय अनुसार प्रहरीले सर्लाहीको मलङ्गवा, हरिवन र बरहथवामा रहेका नापी, मालपोतलगायतका कार्यालयमा सेवाग्राहीबाहेक अन्य व्यक्तिलाई प्रवेशमा कडाई गर्न थालेको छ।
जिल्ला प्रशासन, जिल्ला प्रहरी र मातहतका प्रहरी कार्यालयहरुमा बिचौलिया प्रवेश निषेध लेखिएको व्यानर राखिएको छ ।