• ३१ जेठ २०८२, शनिबार

विश्वासमा पैरो [कथा]

blog

सुटकेसमा धमाधम लुगा मिलाउँदै गरेकी सुधालाई क्रोधित नजरले हेर्दै केशवले भन्यो, “सुधा के तिमी फेरि तीर्थाटनका लागि जान लागेकी ? हिजोसम्म त केही थाहा थिएन ।” 

“हो... साथीहरूले अचानक प्लान बनाए । नाइँ भन्नै 

मन लागेन ।” 

“कति घुम्नु परेको । अस्ति भर्खर मात्र तीर्थबाट फर्किएकी हैन?” केशवले आक्रोश पोख्यो । 

केशवतिर हेर्दा पनि नहेरी सुधाले हल्का पारामा लापर्बाहसँग भनी, “हो, के भो त ? साथीहरू मिलेको बेला जाने त हो । अहिले राम्रा राम्रा साथी जाँदै छन् । त्यही भएर ।”

“कति दिनको यात्रा हो नि ?” रातो रातो अनुहार पार्दै फेरि 

प्रश्न गर्‍यो । 

“अँ होला, त्यस्तै एक महिना जतिको ।” 

“अहो ! त्यत्रो दिनसम्म घर कसले हेर्छ ?” 

हाँस्दै श्रीमान्तिर फर्की र आँखा झिम्क्याएर भनी, “तपाईं भइहाल्नुहुन्छ नि ! तपाईं भएसम्म मलाई केको पिर ? तपाईं घरमा हुनुभएकाले त म ढुक्कले घुम्न पाएकी छु । सबैले यस्तो मौका कहाँ पाउँछन् । म त कति भाग्यमानी ।” अनि श्रीमान्सँग टाँसिँदै लाडिएर भनी, “तपाईंलाई सँगै जाऊँ भनेको त हो, मान्नु हुन्न । तपाईं सँगै भए कति रमाइलो हुन्थ्यो ?”

“परेको छैन मलाई सारा काम छोडेर तिम्रो पछि पछि जहाँ भन्यो त्यहीँ जान ।”

“त्यसो भए आनन्दले बस्नुस् । श्रीमती सँगै नहुँदा कति शून्य हुन्छ । घरको सबै काम गर्न कति गाह्रो छ भन्ने कुरा अनुभव गर्नुस् । म त जान्छु ।”

“जाऊ जे गर्न मन लाग्छ गर । मैले भनेको कहिले पो सुनेकी छौ । आफ्नो मनलागी गर्ने त हो । शून्यपन त कति भोगेँ कति । मेरोबारेमा सोच्ने तिमीलाई कहिले पो फुर्सद छ र ?”

“दिक्क नमान्नुस् न । बेला बला केही दिन यसरी टाढा भए माया झन् गाढा हुन्छ रे के । केही दिनको कुरा त हो । म भगवान्सँग तपाईंको सुस्वास्थ्य, लामो आयु र हाम्रो सुखद वैवाहिक जीवनको निरन्तरताको आशिष लिएर आउँछु ।” 

केशवको शून्यपनको दुःखेसोले कुनै असर पारेन सुधालाई । हार खायो । “अँ जानुअघि कुन दिन कहाँ पुग्छौ । कहिले घर फर्कन्छौ, पूरै तालिका दिएर जानु” भनी रिसले भुनभुनाउँदै अर्को कोठामा गयो । “मैले कहीँ जान्छु भन्यो कि सधैँ यस्तै हो” भनी केशवको आक्रोश, दुःखेसोलाई कुनै मतलब नै गरिन सुधाले । सधैँ झैँ यसपाला पनि आफ्नो यात्राको लामो तालिका केशवलाई थमाई । अनि खुसी खुसी निस्फिक्रीसँग भक्तहरूसहित एकमहिने तीर्थाटनका लागि प्रस्थान गरी । 

अरू बेलाभन्दा यसपाला सुधालाई यो यात्रा अलि खल्लो लाग्यो । हिँड्ने बेलामा केशवको अँध्यारो मुहार आँखासामु नाचिरह्यो । अति माया लागेर आयो । झलझल घर सम्झी । मनमा कुरा खेल्न थाल्यो । आफ्नोबारेमा धेरै सोची । केशव सोझो मान्छे, जे भने पनि मान्छ भनेर एक किसिमले मैले उनलाई हेपेकै हो । उनको सोझोपनको दोहन गरेकै हुँ । घर हेर्नु कि अफिस जानु ? पैसा पनि कमाउनु पर्‍यो । नत्र मलाई घुम्न पैसा, घर खर्च कहाँबाट ल्याउने ? हुन पनि उनलाई एकपल्ट सोध्दा पनि नसोधी यति लामो यात्राको योजना बनाएँ । को को साथी छन् ? भन्दा पनि भनिनँ । अरू लोग्ने मान्छे भए यही कुरालाई लिएर कति शङ्का गर्थे होला । व्यङ्ग्य गरी कति मन दुखाउँथे ? कति रडाको मच्चाउँथे ? बिचरा उनले त्यस्तो शङ्का कहिल्यै गरेनन् । कहिल्यै मन दुःखाएनन् । कति विश्वास गर्छन् मलाई । कति माया गर्छन् । मैले इच्छाएका कुरामा कहिल्यै नाइँनास्ती गर्दैनन् । साथीहरूले पनि भन्छन् । जहाँ जान्छु जे गर्छु भने पनि कुनै रोकटोक छैन । जे गर्न पनि छुट दिएका छन् । तिमी कति भाग्यमानी, कति असल श्रीमान् । हो यस्तो श्रीमान् पाउनु म कति भाग्यमानी । आज आएर आफ्नो भाग्य देखेर आफैँलाई डाहा लागे जस्तो पनि भयो । अनि आफ्नै मनलाई गाली गर्दै सोचेँ– मैले उनको निःस्वार्थ मायाको दुरुपयोग गरेकै हुँ । यसमा कुनै शङ्कै छैन । अनि एक्लै फतफताई– साँच्चि हो, लोग्नेमान्छे यतिसम्म सोझो हुन पनि हुँदैन । श्रीमतीले सम्म हेप्ने ।  

आज सुधाले श्रीमान्को बारेमा धेरै सोची, धेरै मन्थन गरी । यसपल्ट केशव रिसाउनु पनि जायज लाग्यो । सधैँ मैले एक्लै छोडेर जाँदा दिक्क पनि लाग्दो हो । मन कति न्यास्रिँदो हो । सुनसान घरमा आउन पनि मन लाग्दैन होला । को छ र घरमा चाँडै आउनु जस्तो पनि हुँदो हो । अफिसका साथीहरूले “के हो फेरि एक्लै ? श्रीमती कता नि ? कति एक्लै बस्छौ ?” भनी जिस्क्याउँदा पनि होलान् । छरछिमेक, नाताकुटुम्बले पनि “कस्तो श्रीमतीलाई जहाँ मन लाग्यो, त्यहीँ जान दिएको” भनी उल्लीबिल्ली पार्दै छेड हान्दै हाँस्दा होलान् । बिचरा मेरो कारणले कति कुरा सुन्नु पर्छ होला । अब अति भयो । यसपाला मैले यात्रा छोट्याउनै पर्छ । अबदेखि श्रीमान्लाई यसरी एक्लै कहिल्यै छोड्दिनँ । जानै परे पनि उनलाई सोधेर, उनलाई पनि साथ लिएर जाने मात्र योजना बनाउँछु भनी मन दृढ पारी । आफैँले थुमथुम्याएर आफ्नो मन हल्का पारी । 

अब महिना दिनको यात्रा छोट्याएर १० दिनमै घर फर्किने अठोट गरी । अनि सोची– महिना दिनको सट्टा १० दिनमै घर फर्केको देख्दा केशव कति खुसी हुने होलान् ? उनको मायाले म चाँडै फर्केको भन्ने सुन्दा कति फुरुङ्ग भई माया गर्ने होलान् । यस्तो सम्झेर सुधाको मन रोमाञ्चित भयो । आकाशमा फुरफुर उडे जस्तो मन रमायो । मनमनै विचार गरी– यसपाला खबर नै नगरी केशवलाई सरप्राइज दिन्छु । अकस्मात् मलाई अघिल्तिर देख्दा के गर्छन् होला ? एकछिन त उनलाई पत्याउन पनि गाह्रो पर्छ होला । खुसी भई मलाई कति माया गर्ने होलान् ? 

मनमा यस्तै मिठा मिठा कल्पना सजाउँदै यात्रा छोट्याएर सुधा हतारिँदै घर आइपुगी । यस्तै साँझको समय थियो होला । यात्राले थकित सुधा खुसी खुसी फटाफट घरभित्र प्रवेश गरी । मूलढोका ढप्काएको मात्र थियो । भान्सातिर होलान् । बिस्तारै पछाडिबाट गएर तर्साउँछु भनी बिरालोको चालमा ऊ भान्सामा प्रवेश गरी । भान्सामा पनि थिएनन् । कता गएछन्, न बेडरुममा पो आराम गरिरहेछन् कि भनी आफ्नो बेडरुमतर्फ गई । बिस्तारै ढोका घचेडी तर बेडरुमको ढोका भित्रबाट बन्द थियो । भित्रबाट पुरुष र स्त्रीको बेजोडको हाँसो बाहिरसम्म आइरहेथ्यो । सुधाले जोड जोडले ढोका ढकढकाई । केहीबेरमा ढोका खुल्यो । आफूले बाटोभरि कल्पना गरे जस्तै श्रीमान्ले खुसीसाथ अङ्कमाल गर्दै स्वागत गर्लान् भन्ने लागेथ्यो तर सोचविपरीत केशवले राता राता ठुला आँखा पारी हेर्‍यो । अनि रुखो र कडा स्वरमा व्यङ्ग्य गर्दै भन्यो, “महारानी साहेबको किन यति चाँडै सवारी नि ? के घुम्न, रमाइलो गर्न पुग्यो र ? तिम्रा प्यारा साथीलाई यति चाँडै छोड्न सक्यौ ? माया लागेन ?” केशव के भन्दै छन् । ऊ छक्क परी । सुधाले कहिल्यै नदेखेकी केशवको आज अनौठो रूप देख्दै थिई । आश्चर्यमा परेकी उसले भनी, “के ठट्टा गरिरहेको ? खै छोड्नुस् बाटो । कस्तो थाकेर आइरहेछु ।” त्यही बेला भित्रबाट स्त्री आवाज आयो, “हैन यसबेला अर्काको घरमा ‘कलबेल’ पनि नबजाएर चोर जस्तो लुसुक्क आउने को हो ? कस्तो सोमत पनि नभएको, को रहेछ डार्लिङ ?” 

अहो ! यहाँ त यस्तो मस्ती पो चलेको रहेछ ? सुधा छाङाबाट खसे जस्तै भई । शिर फनन घुम्न थाल्यो । रिसले आँखा पनि देखिन । ढोका छेकेर बसेका केशवलाई घचेडेर भित्र पसी । उसले त्यहाँ देखी– आफ्नो बिछ्यौनामा त बिहान बेलुका घरमा काम गर्न आउने जमुना पो अर्धनग्न अवस्थामा आरामले लेटिएकी थिई ।