• १४ पुस २०८२, सोमबार

मर्स्याङ्दी बचाउ सङ्घर्ष समितिले फिर्ता गर्‍यो तालाचाबी

blog

प्रजिअको रोहवरमा मर्स्याङ्दीबेँसी जलविद्युतको खोसिएको तालाचाबी बुझाउँदै सङ्घर्ष समितिका अध्यक्षलगायत । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस १४ गते । आन्दोलनरत मर्स्याङ्दी बचाउ सङ्घर्ष समितिले मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीलाई यसअघि आफूले निर्माणस्थलबाट खोसेको तालाचाबी फिर्ता गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको दुबैपक्ष बिचको छलफलपछि सङ्घर्ष समितिले आयोजनाका उपकरणको चावि प्रवर्धक कम्पनीका प्रतिनिधिलाई फिर्ता गरेको हो ।

मस्याङ्दी बचाउ सङ्घर्ष समितिका संयोजक राम थापाले आयोजनाका प्रवर्धक कम्पनी दिव्यज्योति  प्रतिनिधि मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजना दिव्यज्योति हाइड्रोपावर र अपि पावर कम्पनीका प्रतिनिधिलाई यसअघि गत मङ्सिर ११ गते खोसेको चाबी फिर्ता गरेको हो । 

यसअघि सङ्घर्ष समितिले आयोजनाको विद्युत् गृह निर्माण क्षेत्रमा प्रयोग भइरहेका जेसिबी, मिक्स्चर, केस मेसिन, मिक्स्चर, ड्रिल मेसिन र जेनेरेटरको चापी सङ्घर्ष समितिले जफत गर्दै आयोजनाको काम तत्काल बन्द गर्न र आयोजना स्थलबाट निर्माण सामग्री र उपकरण तत्काल हटाउन चेतावनी दिएको थियो ।

यद्यपि मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनाको बारेमा भएको छलफल भने निष्कर्षविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेको मध्यस्थतामा आइतबार भएको छलफल दुबै पक्ष टसमस नहुँदा बिनानिष्कर्ष टुङ्गिएको हो । 

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले पहिलो पटक औपचारिक छलफलको शुरुवात भएको र सङ्घर्ष समितिले आयोजनाको उपकरणको चाबी बुझाएको बताउनु भयो । प्रजिअ पाण्डेले भन्नुभयो, “आज निष्कर्ष नआए पनि छलफलको शुरुवात भएको छ । यो सकारात्मक पक्ष हो । दुबै पक्षलाई मान्य हुनेगरी आयोजना बन्नेमा हामी विश्वस्त छौं ।” 

आयोजना बारेमा भइरहेको अन्योललाई लिएर सरुवा भएर जानै लाग्दा प्रजिअ पाण्डेले आयोजना गर्नु भएको छलफलमा आयोजना पक्ष, मर्स्याङ्दी बचाउ अभियानका प्रतिनिधि र स्थानीयवासीबिच छलफल आयोजना गरिएकोमा बिना निष्कर्ष टुङ्खिएको हो । 

मस्याङ्दी बचाउ अभियानको तर्फबाट संयोजक राम थापा, सचिव सुरेश प्रधान लगायतले आयोजनाबाट मेसिन, उपकरण हटाउन ताला चाबी फिर्ता गरेको भन्दै बेँसीसहर नगरपालिका क्षेत्रभित्र आयोजना सञ्चालन गर्न नदिने आफूहरूको अडान कायम रहेको बताउनु भयो । 

आयोजनाको प्रवर्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर र अपिपावर कम्पनीका प्रतिनिधिले आयोजनाको बारेमा जानकारी गराउँदै सञ्चालन गर्ने विकल्पहरू खोजिनु पर्ने धारणा राखेका थिए । 

मर्स्याङ्दी बचाउ अभियानका सचिव सुरेश प्रधानका अनुसार विस्फोट तथा भारी मेसिनरीका कारण भूविन्यास प्रभावित भई बस्ती रुखो–सुक्खा बन्दै जाने जोखिम छ, जसले स्थानीयको जीवनयापन नै सङ्कटमा पार्ने भएकाले आयोजना रोक्नु पर्ने माग गर्नु भएको थियो । 

स्थानीयको विरोधपछि रोकिएको ५० मेगावाट क्षमताको मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनाको भविष्यमाथि अझै अनिश्चित्ता कायमै छ । आयोजनाबारे छलफल भएको भए पनि प्रवर्धक कम्पनी र स्थानीय पक्ष दुबै टसमस नभएपछि अन्योलता थपिएको हो । आयोजनाले बेँसीसहर बजार छल्नेगरी बाँधस्थल मर्स्र्याङ्दी गाउँपालिका क्षेत्रमा पुर्‍याउने गरी प्राविधिक सर्भे र छलफल अघि बढाएको छ ।