राधा लुइटेल
फिदिम, असार १ गते। पाँचथरमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग पहिचान गरिने भएको छ। फिदिम नगरपालिकाको आयोजनामा असार ३ गते पाँचथर जिल्ला अस्पतालमा एकदिने निःशुल्क क्षयरोग परीक्षण शिविर सञ्चालन हुन लागेको हो।
नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा हुने सो शिविरमा एआई प्रविधि युक्त डिजिटल प्रविधिबाट क्षयरोगको पहिचान गरिनेछ। फोक्सो सम्बन्धी समस्यासँगै क्षयरोगको लक्षण भएका र ६० वर्ष उमेर नाघेका नागरिकलाई प्राथमिकतामा राखेर परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश यादवले जानकारी दिनुभयो।
‘उपचार निःशुल्क छ, समयमै परीक्षण गरौं, स्वस्थ बनौं’भन्ने नारा सहित सञ्चालन गर्न लागिएको शिविरमा उपस्थित भएर क्षयरोग परीक्षण गर्न नगरप्रमुख मित्रप्रसाद काफ्लेले लक्षित वर्गका नागरिकलाई आह्वान गर्नु भएको छ । नगरपालिकाले शिविरबारे जानकारी दिन आइतबार पत्रकारसँग अन्तरक्रिया गरेको छ।