• १४ पुस २०८२, सोमबार

गण्डकीमा थपिए ४४ हजार मतदाता

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १४ गते । अघिल्लो निर्वाचनको तुलनामा फागुन २१ गते हुने मतदानमा गण्डकीमा ३४ हजार मतदाता बढेका छन् । 

असोज १० गतेअघि गण्डकीका कुल मतदाता १८ लाख २६ हजार ३१ जना रहेकोमा अहिले ४४ हजार ३४ जना थप भई १८ लाख ७० हजार ६५ जना पुगेका हुन् ।  

गण्डकीमा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या करिब ४० हजार बढी छ । प्रदेशमा पुरुष मतदाता नौ लाख १४ हजार पाँच सय ३५ हुँदा महिलाको सङ्ख्या नौ लाख ५५ हजार पाँच सय १६ छ ।

प्रदेशमा अन्य मतदाता १४ जना छन् । फागुन २१ को निर्वाचनका लागि प्रदेशका एक हजार दुई सय ९७ मतदानस्थलमा दुई हजार तीन सय ९६ मतदान केन्द्र तोकिएका छन् । 

प्रदेशमा सबैभन्दा बढी मतदाता कास्कीमा र सबैभन्दा कम मतदाता मनाङमा छन् । कास्कीमा एक लाख ४८ हजार चार सय १५ पुरुष, एक लाख ६० हजार एक सय ५३ महिला र चार अन्य गरी तीन लाख आठ हजार पाँच सय ७२ मतदाता कायम भएका छन् । हिमाली जिल्ला मनाङमा भने तीन हजार तीन सय ७७ पुरुष र तीन हजार छ सय २३ महिला गरी सात हजार मतदाता पुगेका छन् ।

गोरखामा एक लाख १४ हजार आठ सय ३७ पुरुष, एक लाख १४ हजार दुई सय २० महिला र एक अन्य गरी दुई लाख २९ हजार ५८ मतदाता छन् । लमजुङमा कुल मतदाता एक लाख ३७ हजार एक सय २४ रहेकोमा पुरुष ६७ हजार छ सय र महिला ६९ हजार पाँच सय २४ जना छन् ।

तनहुँमा एक लाख २३ हजार चार सय ९१ पुरुष र एक लाख ३० हजार नौ सय छ महिला, स्याङ्जामा एक लाख २२ हजार चार सय ६४ पुरुष र एक लाख २६ हजार तीन सय ५१ महिला गरी दुई लाख ४८ हजार आठ सय १६ मतदाताले नयाँ सांसद चुन्ने भएका छन् ।

यस्तै, नवलपरासी (वर्दघाट सुस्तापूर्व)मा एक लाख २९ हजार ५४ पुरुष, एक लाख ३९ हजार चार सय ६८ महिला र चार अन्य गरी दुई लाख ६८ हजार पाँच सय २६ मतदाता छन् । 

प्रदेशको अर्काे हिमाली जिल्ला मुस्ताङमा पाँच हजार पाँच सय ५९ पुरुष, पाँच हजार सात सय ६८ महिला र एक अन्य, म्याग्दीमा ४२ हजार तीन सय ३२ पुरुष, ४४ हजार ६४ महिला र एक अन्य मतदाता छन् ।

आयोगको अन्तिम मतदाता नामावलीमा बागलुङमा ९४ हजार आठ सय छ पुरुष, ९८ हजार हजार पाँच सय ७४ महिला र अन्य एक गरी एक लाख ९३ हजार तीन सय ८१ जना र पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता छन् । पर्वतमा पुरुषको सङ्ख्या ६२ हजार छ सय, महिला मतदाता ६२ हजार आठ सय ६५ हुँदा अन्य एक मतदाता छन् । 

जेनजी आन्दोलनपछि भएको निर्वाचनलाई दृष्टिगत गरी सङ्कलन गरिएको मतदाता नामावलीको अद्यावधिक तथ्याङ्क निर्वाचन आयोगले प्रकाशन गरेको हो ।

आगामी निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउँछन् । प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले अन्तिम मतदाता नामावली प्रकाशन भएको र आयोग चुनावका अरु तयारीमा लागेको उल्लेख गर्नुभयो ।

फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षबाट गण्डकी प्रदेशका ११ जिल्लामा १६ निर्वाचन क्षेत्र छन् । २०७९ को निर्वाचनमा गण्डकी प्रदेशमा १० क्षेत्रमा नेपाली कांग्रेस, पाँच क्षेत्रमा नेकपा (एमाले), दुई क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), एक क्षेत्रमा जनमोर्चाका उम्मेदवार विजयी भएका थिए ।

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनभएपछि त्यहाँ भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्ले विजयी हुनुभएको थियो ।