• २१ चैत २०८२, शनिबार

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

blog

पदभार ग्रहण गर्नुहुँदै परराष्ट्रमन्त्री शिशिर खनाल । फाइल तस्बिर ।

काठमाडौँ, चैत २० गते । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डा महत्त्वपूर्ण भएकाले तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । 

मन्त्री खनालले नागरिकतासम्बन्धी विषयमा केही कानुनी जटिलताका कारण थप अध्ययन र कानुन संशोधनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । देशलाई आर्थिक रूपान्तरण गर्न ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै उहाँले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको बताउनुभयो ।

पोर्चुगलमा रहेका नेपालीको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिँदै उहाँले प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको जानकारी दिनुभयो । 

सो छलफलमा एनआरएनएका पदाधिकारीले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएको एनआरएनए सचिवालयले जनाएको छ । रासस