• २० चैत २०८२, शुक्रबार

श्रोत नखुलेको नगद तथा लागु औषधसहित तीन जना नियन्त्रणमा

blog

सीमावर्ती क्षेत्रमा चेकजाँच गरिँदै । तस्बिर सौजन्य : कपिलबस्तु प्रहरी

नारद कोहार

तौलिहवा(कपिलबस्तु), चैत २० गते । जिल्लाको सीमावर्ती क्षेत्र मर्यादपुर बजारमा प्रहरीले लागुऔषध तथा श्रोत नखुलेको नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध तथा विष्फोटक पदार्थ ओसारपोसार नियन्त्रणका लागि गौतम बुद्ध विमानस्थल सुरक्षा कार्यालय भैरहवाको केनाइन (डग) शाखा, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले यशोधरा गाउँपालिका ७ मर्यादपुर बजारस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा यशोधरा गाउँपालिका ५ सुठौली बस्ने २६ वर्षीय बब्लु यादवले चलाएको यूपी ५५ एडब्लु ०५९६ नम्बरको भारतीय मोटरसाइकलको सिट कभरभित्र लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध स्पासप्रोक्स १२ ट्याब्लेट फेला पारी बरामद गरिएको छ ।

त्यस्तै यशोधरा गाउँपालिका ७ मर्यादपुर बस्ने ३१ वर्षीय अखलक खाँनले चलाएको लु ५१ प १९०९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनको साथमा रहेको झोलाबाट स्रोत नखुलेको आठ लाख बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त नोट नेपाली एक हजार दरका ८ सय थान रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै मायादेवी गाउँपालिका–५ गोनहिया बस्ने अजय गुप्ता चालक रहेको तथा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–९ सोनवर्षा बस्ने दखि मल्लाह सवार रहेको लु ६५ प ३९८ नम्बरको मोटरसाइकल जाँच गर्दा चालकको साथबाट एक लाख भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद लागुऔषध जिल्ला अदालत कपिलवस्तुमा पठाउने तयारी भइरहेको तथा बरामद नगद आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो । 

सीमावर्ती क्षेत्रमा लागुऔषध तथा अवैध रकम ओसारपोसार नियन्त्रणका लागि चेकजाँचलाई कडाइ गरिएको प्रहरी नायब उपरिक्षक सिंहको भनाइ छ ।