• २० चैत २०८२, शुक्रबार

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

blog

प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा नियुक्त पत्रकार दीपा दाहाल । फाइल तस्बिर

काठमाडौँ, चैत २० गते । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त हुनुभएको हो ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हाल्नुभएको  छ । दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नुहुनेछ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उहाँको पत्रकारिताको लामो अनुभवलाई सरकारको मुलधारमा जोडन यो नियुक्ति गरिएको हो । 

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा लामो समय व्यावसायिक पत्रकारिताको अनुभव छ । उहाँले पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आउनुभएको थियो । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आउनुभएकी दाहालले पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्वको प्रशिक्षक समेत हुनुहुन्छ । 

‘कोभिड : नसोचेको, नभोगेको संकट’ नामको अनुसन्धानमुलक पुस्तककी लेखक समेत रहनु भएकी दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारितासम्बन्धी अवार्डबाट सम्मानित हुनुभएको छ ।