• २१ वैशाख २०८३, सोमबार

वामीटक्सारमा सशस्त्र प्रहरीको ‘अस्थायी मनसुन प्रतिकार्य बेश’

blog

रुद्रावती बहुमुखी क्याम्पसको भवनमा स्थापना गरिएको सशस्त्र प्रहरीको ‘अस्थायी मनसुन प्रतिकार्य बेश’। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, वैशाख २१ गते।
गुल्मीको वामीटक्सारमा सशस्त्र प्रहरीको ‘अस्थायी मनसुन प्रतिकार्य बेश’ स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीले मनसुनजन्य विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण र नागरिकको जिउधनको सुरक्षाका लागि ‘अस्थायी मनसुन प्रतिकार्य बेश’ स्थापना गरेको हो।

यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–७, वामीटक्सारस्थित रुद्रावती बहुमुखी क्याम्पसको भवनमा उक्त बेश सञ्चालनमा ल्याएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक टोप बहादुर कुमालको कमाण्डमा १५ जनाको विशेष टोली सो क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हेडक्वार्टर गुल्मीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदिप प्रसाईले जानकारी दिनुभयो।

उहाँका अनुसार मनसुन सक्रिय हुने समय नजिकिँदै गर्दा पहाडी भू–भागमा हुन सक्ने बाढी, पहिरो जस्ता प्राकृतिक विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी स्वरूप बेश स्थापना गरिएको हो। यो बेश विपद्को समयमा तत्काल खोज तथा उद्धार कार्यमा खटिने छ। विपद् व्यवस्थापनका अतिरिक्त यो टोलीले सो क्षेत्रका मुख्य राजमार्गहरूको सुरक्षा गर्नेछ।

त्यसैगरी गण्डकी प्रदेशको बागलुङ्ग जिल्लाको सिमानासँग यो बेस नजिक पर्ने हुँदा प्रदेश सिमानामा हुने आवतजावतको निगरानी समेत गर्ने उद्देश्य रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसाईले बताउनुभयो। सडक अवरुद्ध भएमा तत्काल खुलाउन र सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन यो बेश प्रभावकारी हुने बताइएको छ। विपदका बेला तत्काल राहत र उद्धारमा यो अस्थायी बेशले स्थानीयस्तरमा सुरक्षाको अनुभूति गराउनेछ।