डडेल्धुरा, वैशाख २१ गते । डडेल्धुराको दुर्गम क्षेत्र गन्यापधुरामा एमबीबीएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गन्यापधुरा गाउँपालिकाको केन्द्र वडा नं. २ बडालनजिकै देवखेतमा निर्माण गरिएको अस्पताल गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले हिन्दु परम्पराअनुसार पूजा–आराधनासहित अस्पताल भवनको विधिवत् उद्घाटन गर्दै सेवा सुरु गर्नुभयो । अध्यक्ष कार्कीले अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकले गाउँमै सहज स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
उहाँले अब उपचारका लागि गन्यापधुरावासीले डडेल्धुरा सदरमुकाम, धनगढी, नेपालगञ्ज, काठमाडौं तथा भारतका विभिन्न अस्पतालसम्म धाउनुपर्ने बाध्यता क्रमशः हट्ने विश्वास व्यक्त गर्नुभयो ।
संघीय सरकार र गाउँपालिकाको १४ करोड ७६ लाख रुपियाँ लागतमा १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । करिब तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७९ सालमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरिएको थियो ।
अध्यक्ष कार्कीका अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवा पनि गाउँमै उपलब्ध गराउने योजना रहेको छ ।
उद्घाटनसँगै एक जना एमबीबीएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिनुभयो । अस्पताल सञ्चालनमा आएसँगै जिल्लामा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने गन्यापधुरा पहिलो पालिका बनेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।
उक्त कार्यक्रमअन्तर्गत डडेल्धुराको नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माण थालिएको थियो । तर ती पालिकामा भने अस्पताल निर्माण कार्य अझै अलपत्र छ । बजेट अभाव तथा निर्माण कम्पनीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कार्य प्रभावित भएको नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताउनुभयो ।