रजनी योगी
सुर्खेत, वैशाख २१ गते । काठमाडौँको सुकुमवासी बस्तीमा डोजर चलेपछि कर्णालीका सुकुमवासी बस्तीमा समेत त्रास फैलिएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा पनि सार्वजनिक जग्गामा सुकुमवासीको बसोबास छ ।
कर्णाली प्रदेशमा सबैभन्दा बढी सुकुमवासी भएको जिल्ला सुर्खेत हो । यहाँ पुरानो सुकुमवासी बस्तीका साथसाथै पछिल्ला वर्षमा प्राकृतिक विपत्का कारण घरबारविहीन भएकाको सङ्ख्या पनि ठुलो छ । २०७१ मा आएको बाढीपीडित पनि सुकुमवासी अवस्थामा छन् । तत्कालीन अवस्थामा उद्धार गरेर सरकारी जग्गामा राखिएको थियो । समयमै पुनस्र्थापना नहुँदा उनीहरू अहिले पनि सार्वजनिक जग्गामै बसिरहेका छन् । आफूहरू बसेकै स्थानमा पुर्जा पाइने आशले बर्सौंदेखि पालमुनि बसिरहेको गिरीघाट सुकुमवासी बस्तीका हस्त महताराले बताउनुभयो । अहिले सरकारले बस्ती खाली गराउने भनेपछि त्रासमा बस्नुपरेको उहाँको भनाइ छ ।
देशभरको तथ्याङ्क हेर्दा सबैभन्दा कम भूमि समस्या कर्णाली प्रदेशमा देखिएको छ । जहाँ कुल ५७ हजार ३०५ परिवार सूचीकृत भएका छन् । कर्णालीमा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या ५२ हजार ५५३ रहेको छ । प्रदेशगत आधारमा लुम्बिनी प्रदेशमा भूमि समस्या सबैभन्दा बढी देखिएको छ । लुम्बिनीमा कुल तीन लाख १७ हजार १९० परिवार सुकुमवासी र अव्यवस्थित बसोबास गर्ने सूचीकृत छन् । केही परिवारले जग्गाको पुर्जा पाए पनि सुर्खेतमा अझै भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या ठुलो छ ।
अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुमवासीका गरी झन्डै ४८ हजार निवेदन सङ्कलन भएका थिए । भूमिसम्बन्धी समस्या समाधान आयोगले सुर्खेतमा गरेको लगत सङ्कलनका व्रmममा उक्त सङ्ख्यामा निवेदन परेका हुन् । तीमध्ये ४२ हजार आवेदन अव्यवस्थित बसोबास गर्नेको छ । सुर्खेतमा भूमिसम्बन्धी समस्या पुरानै हो तर यस्ता समस्या समाधान गर्न राज्यले चासो दिए पनि समाधान हुन सकेको छैन ।
वीरेन्द्रनगर–१ मा ९४० घरपरिवारको अव्यवस्थित बसोबास छ । सोही वडामा भूमिहीन र सुकुमवासी ६१३ परिवार छन् । विभिन्न कारणले जमिनको स्वामित्व प्राप्त गर्न नसकेका यी परिवार असुरक्षित तरिकाले सडकछेउ, खोला किनार र ऐलानी जमिनमा बस्न बाध्य भएका हुन् । प्रदेश राजधानी वीरेन्द्रनगर–१ मा मात्रै अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुमवासी गरी एक हजार ५५३ परिवार रहेको सरकारी तथ्याङ्क रहेको छ । यस्तै वीरेन्द्रनगर–८ मा पर्ने मिलडाँडा (सिटी बसपार्कको दक्षिण पूर्वी क्षेत्र) मा करिब ३५ घरपरिवारको असुरक्षित बसोबास छ । राजमार्गछेउमा टहरा निर्माण गरी बसेका यहाँका बासिन्दाको बसाइँ निकै जोखिमपूर्ण रहेको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । नगरपालिकाले समेत सरकारी संरचना खाली गर्न विभिन्न समयमा सूचना प्रकाशित गर्ने गरेको छ । नगरको वडा नं. ६ स्थित खोर्केआसपासमा पनि सयौँ परिवार जोखिम मोलेर बसिरहेका छन् । यी बस्तीहरू उचित व्यवस्थापनको पर्खाइमा छन् ।