• २१ वैशाख २०८३, सोमबार

भवन बनेपछि पढाइमा सहज

blog

सल्यान समाचारदाता

सल्यान, वैशाख २१ गते । सल्यानको दार्मा गाउँपालिका–५, रातामाटास्थित अन्धनाशक आधारभूत विद्यालयमा पक्की भवन निर्माण भएपछि पठनपाठनमा सहज बनेको छ । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकास कार्यालय सल्यानले चारकोठे विद्यालय भवन निर्माण गरेसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर सिर्जना भएको हो ।

कर्णाली प्रदेश सरकारको करिब ६४ लाख ५५ हजार ६८३ रुपियाँको लागतमा निर्माण गरिएको उक्त भवन भूकम्प प्रभावित क्षेत्र लक्षित पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो । भूकम्पपछि जीर्ण बनेका संरचनाका कारण विद्यालय सञ्चालनमा समस्या भइरहेका बेला नयाँ भवन निर्माण भएपछि पढाइमा राहत मिलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थलबहादुर केसीले भूकम्पका कारण पुरानो भवन जीर्ण हुँदा पठनपाठन प्रभावित भएको उल्लेख गर्दै नयाँ भवनले कक्षा सञ्चालन सहज बनाएको बताउनुभयो । “पहिले भवन कमजोर भएपछि केही समय विद्यार्थीलाई पालमुनि राखेर पढाउनुपरेको थियो, अहिले भने नियमित रूपमा कक्षा सञ्चालन गर्न सहज भएको छ,” उहाँले भन्नुभयो ।

पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख सिनियर इन्जिनियर नवीन थापाले भूकम्प प्रभावित क्षेत्रमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । “स्थानीयलाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको छ,” उहाँले भन्नुभयो । जिल्लामा करिब तीन करोड रुपियाँको लागतमा चार वटा विद्यालय र दुई वटा स्वास्थ्य संस्था पुनर्निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक खिमबहादुर केसीले नयाँ चारकोठे भवन निर्माणले आधारभूत तह सञ्चालनमा सहजता ल्याए पनि अझै कक्षाकोठा अभाव रहेको बताउनुभयो । उहाँका अनुसार भूकम्पले पुराना भवन जीर्ण बनाएपछि केही समय अस्थायी संरचनामा कक्षा सञ्चालन गर्न‘परेको थियो । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार २०८० कात्तिक १७ गते राति गएको जाजरकोट भूकम्पले सल्यानमा चार हजार ३६४ घरमा क्षति पु¥याएको थियो । तीमध्ये सबैभन्दा बढी दार्मा गाउँपालिकामा चार हजार ८१ घरमा क्षति पुगेको थियो । यस्तै बागचौर नगरपालिकामा १५४, कुमाख गाउँपालिकामा १२४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति पुगेको तथ्याङ्क छ ।

यसैबिच विद्यालयको नयाँ भवनको एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । सल्यान प्रदेश सभा (क) का सदस्य भीमप्रकाश शर्माले उद्घाटन गर्दै भूकम्प प्रभावित क्षेत्रमा रहेका सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सङ्घीय सरकारले थप कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले भूकम्पमा मानवीय क्षति नभए पनि भौतिक पूर्वाधारमा ठुलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणका लागि राज्यले पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो ।