• २० चैत २०८२, शुक्रबार

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवमा कार्यक्रम

blog

बार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, चैत २० गते । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी शुक्रबार मनाइएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रेडियो नेपालको ऐतिहासिक योगदान, सार्वजनिक सेवा प्रसारणको महत्व तथा आधुनिक सञ्चार माध्यमका चुनौती र सम्भावनाबारे चर्चा गरिएको छ ।

रेडियो नेपाल आज ७५ वर्ष पूरागरी ७६ औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपालले “राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार” भन्ने मूल भावनासहित लामो यात्रा तय गरेको हो । 

हाल सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत सञ्चालनमा रहेको रेडियो नेपालले नागरिक केन्द्रित प्रसारणलाई प्राथमिकतामा राख्दै राष्ट्रिय एकता, समृद्धि र विपद् व्यवस्थापनलाई मुख्य मार्गनिर्देशक बनाएको छ । यसैबिच आज केन्द्रीय कार्यालय र रेडियो नेपालको सातै प्रदेशका कार्यालयहरुले वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको कार्यालयले जनाएको छ ।

रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा रेडियो नेपाल धनकुटा उत्कृष्ट कार्यालयको रुपमा सम्मानित भएको कार्यालयले जनाएको छ । वार्षिकोत्सवको अवसर पारेर रेडियो नेपाल धनकुटाले पनि प्रसारण आरम्भ भएको ३३ वर्षमा प्रवेश गरेको शुभअवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । 

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यता एवम् रेडियो नेपाल धनकुटाका कार्यालय प्रमुख तिलविक्रम चेम्जोङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा रेडियो नेपाल धनकुटासँगको नियमित सहकार्य गरेकोमा सहिदभूमि गाउँपालिका, धनकुटा नगरपालिका र स्वास्थ्य निर्देशनालय धनकुटालाई सम्मान गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख डा. सन्तोष राई, वरिष्ठ पत्रकार एवम् राष्ट्रिय समाचार समितिका पूर्व महाप्रवन्धक सिद्धराज राई, वरिष्ठ पत्रकार सन्जय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।