काठमाडौँ, चैत २० गते । सरकारले पश्चिम एसियामा जारी द्वन्द्वका कारण प्रभावित बनेका नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक नेपाल वायु सेवाको विशेष उडान परिचालन गर्ने भएको छ ।
पश्चिम एसियाका कतिपय देशबाट राम्ररी विमान उडान नहुँदा नेपाल फर्कन चाहेका कैयौँ नेपाली नागरिक ती क्षेत्रका विभिन्न मुलुकमा अलपत्र छन् । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा गत मङ्गलबार चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायु सेवा निगमका उच्चपदस्थ अधिकारीसहितको संयुक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफलमा उद्धार गर्ने सहमति जुटेको थियो ।
सोही सहमति अनुसार यसरी नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक विमान पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालको अनुरोधमा नेपाल वायु सेवा निगमले चैत २० देखि २२ गतेसम्म लगातार वायु सेवा निगमले जहाजको विशेष उडान कार्यसूची तय गरेको छ । पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडान गत फेब्रुअरी २८ तारिखदेखि स्थगित भएका थिए ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार चैत २० गते काठमाडौँबाट नेपाल वायु सेवाको आरए २२९ कल साइन भएको विमान दुबई जाने भएको छ । उक्त विमानमा आउन पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ । चैत २१ गते दुबईबाट आरए २३० नम्बरको विमान नेपाल आउने कार्यतालिका रहेको छ । चैत २२ गते काठमाडौँबाट आरए २४१ नम्बरको विमान साउदी अरेबियाको दमाम जाने तय भएको छ । दमामबाट सोही दिन आरए २४२ नम्बरको जहाज नेपाल आउने कार्यसूची रहेको छ ।
विमान पठाउने निर्णय भएको भोलिपल्ट बुधबार कुवेत एयरवेजको एउटा जहाजमा २९१ यात्रु स्वदेश फर्किएका थिए । उक्त विमानमार्फत नै विगतमा अन्य कारणले मृत्यु भएका नौ जना नेपाली नागरिकको शव ल्याइएको थियो । पश्चिम एसियाका विभिन्न मुलुकबाट कति नेपाली फर्कन चाहेका छन् र अबको तीन दिनमा कसरी फर्काउन सकिन्छ भनेर तथ्यगत गृहकार्यमा त्यहाँस्थित राजदूतावास जुटेका छन् ।
मन्त्रालयस्थित पश्चिम एसिया, मध्यएसिया र अफ्रिकी महादेश महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार हालसम्म साउदी अरेबियाबाट ६५०, कुवेतबाट १६० र बहराइनबाट एक सय जनाले स्वदेश फर्कन चाहेको अहिलेसम्मको जानकारीमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सबाट वायु सेवाको जहाजमा आउन चाहने बढीजसो भिजिट भिसामा घुम्न गएका नेपाली नागरिक रहनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कति छन् भन्ने विषयमा कतिपयले आफैँ टिकट काटिसकेको पाइएको छ भने अन्यको बारेमा तथ्य सङ्कलन गर्ने काम भइरहेको छ ।”
उक्त उडानको व्यवस्था गरेकोमा मन्त्रालयले नेपाल एयरलाइन्सलाई धन्यवाद ज्ञापन गरेको छ । उडान सञ्चालनका लागि आवश्यक बिमा व्यवस्था सहज बनाउन सहयोग पु¥याएकोमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडप्रति पनि मन्त्रालयले कृतज्ञता व्यक्त गरेको छ । पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न विदेशमा रहेका नेपाली नागरिकका परिवार तथा अन्य सरोकारवाला निकायले दबाब दिँदै आएका थिए ।