काठमाडौँ, फागुन २९ गते । नेपालको वैश्विक प्रयासको फलस्वरूप आगामी अप्रिल १५ देखि हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ । नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको हो ।
नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रसङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ । यस वर्ष मनाइन लागेको पहिलो अन्तर्राष्ट्रिय आरोग्यता दिवस नेपालमा भने आउँदो नयाँ वर्ष २०८३ वैशाख २ गते पर्न गएको छ । महासभाले मङ्गलबार उक्त प्रस्तावलाई भारी मतका साथ पारित गरेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
वर्तमान परराष्ट्रमन्त्री बालानन्द शर्माले मन्त्री पद ग्रहण गर्नुभएको दिन उक्त प्रस्ताव महासभामा लैजाने पहिलो निर्णय गर्नुभएको थियो । प्रस्तावमाथि छलफल भएर पारित गर्नका लागि भएको आह्वानमा छिमेकी मुलुक चीन र भारतसहित ४० मित्रराष्ट्र मुलुकले समर्थन जनाएको थियो । परराष्ट्रमन्त्री शर्माका अनुसार विश्वका मानिसको जीवनलाई स्वस्थ र निरोगी बनाउने पूर्वीय सभ्यतायुक्त अभ्यासलाई विश्वभर फैलाउने मात्र नभई नेपालको आफ्नो मौलिक अभ्यास विश्वमाझ परिचित गराउने बलियो माध्यम बनेको छ । उहाँले भन्नुभयो, “नेपालको अन्तर्राष्ट्रिय कूटनीतिको सौम्य शक्तिका रूपमा रहेको ध्यान, योग, आरोग्यता, प्राकृतिक उपचार, आयुर्वेदिक अभ्यास र आदिवासीय अभ्याससमेतलाई समेटिने छ ।” यसरी नेपालले भनेको कुरा विश्वका लागि हितकर छ भनेर सुनिँदै संयुक्त राष्ट्रसङ्घको महासभाले स्वीकार गर्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको उहाँले बताउनुभयो । परराष्ट्रमन्त्री शर्माले थप्नुभयो, “हामीसँग भएको पूर्वीय ज्ञान, धार्मिक तथा यौगिक आचरण, सिप, अनुभव, अभ्यास र आरोग्यताका विधिहरू अब विश्वका सबै मुलुकले सुन्ने, चिन्ने, अभ्यास गर्ने र अनुपालन गर्ने, गराउने छन्; जसले नेपाल चिनाउने अर्को आयाम थपिएको छ ।”
उक्त घोषणाले मानिसको जीवनशैली, शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, र पारिस्थितिक कल्याणलाई आपसमा साटासाट गर्दै निरोगी जीवन र समाज बनाउन विश्वलाई सघाउने अपेक्षा नेपाल सरकारका तर्फबाट मन्त्रालयले गरेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । विश्वव्यापी रूपमा बलियो र अधिक उत्थानशील समाज निर्माण गर्दै रोगव्याधीको आयुर्वेदिक उपचार, स्वस्थ जीवनशैली र समावेशी स्वास्थ्य प्रणालीलाई पनि बढावा दिने उहाँले प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “यसले नेपालको विश्व प्रतिष्ठालाई थप माथि उठाएको छ, सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि र शान्ति सैनिकको आयामलाई थप बढाएको छ ।”
नेपालको अपार जैविक विविधता, यहाँका अमूल्य जडीबुटी, अतुलनीय प्राकृतिक सम्पदालाई यस दिवसले एकसाथ विश्वमाझ विचरण गराउने क्षमता राख्ने भएकाले भावी पुस्ताकै लागि अनुपम उपहार साबित हुने दाबी गरिएको छ । सौम्य कूटनीतिको अभ्याससँगै यस दिवसले आरोग्य र मानव कल्याणयुक्त पर्यापर्यटनको विकासमा सरकारका भावी योजनामार्फत वैदेशिक अर्थ आर्जनको माध्यम बनेर सघाउने अपेक्षा राखिएको जानकारी मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले दिनुभयो । उहाँले भन्नुभयो, “यो दिनले नेपालको उपस्थिति विश्वमा थप बलियो बनाउन र नेपालको छवि थप उजिल्याउन मद्दत पु¥याउनुका साथै नेपालको संस्कृति, परम्परागत विधि, खानपान, रहनसहन, आयुर्वेदिक अभ्यासको प्रवर्धन हुने छ ।”
विश्वले हरेक पलमा नयाँ कुरा खोजिरहेको हुन्छ । नेपालमा हिमाल, पहाड र तराईले युक्त भौगोलिक विविधता छ । सोही अनुसारको जीवनशैली, प्राकृतिक सम्पदा, उपचार विधि, जडीबुटीको उपभोगसँगै समुन्नत समाज निर्माणलगायतका परम्परागत अभ्यास यहाँ पाइन्छ । यसलाई प्रवर्धन गरेर स्थानीयताको परिचय बनाउन सके विदेशी पर्यटकको प्रमुख आकर्षण बन्न सक्ने विषयलाई सौम्य कूटनीतिमार्फत मन्त्रालयले अघि बढाउने सोच राखेको हो । सौम्य कूटनीति नितान्त नौलो अभ्यास भएकाले पनि यसको प्रवर्धनका लागि भविष्यमा थप पहल गर्ने तयारी थालेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । यी विषयलाई आगामी दिनमा कसरी ‘डिजिटाइज’ गरेर लैजान सकिन्छ भन्ने विषयमा मन्त्रालयले छलफल थालेको जनाइएको छ ।