काठमाडौँ, चैत १ गते । अबको छ महिनाभित्र राहदानी आवश्यक पर्ने नागरिकलाई छिटोभन्दा छिटो राहदानी लिने प्रक्रिया सुरु गर्न राहदानी विभागले अनुरोध गरेको छ । अबको दुई महिनाभित्र जति आवश्यक परे पनि धान्न सक्ने गरी राहदानी पुस्तिकाको मौज्दात विभागसँग रहेको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो ।
विभागले नयाँ प्रणालीमार्फत विद्युतीय राहदानी जारी गर्ने तयारी थालेको छ । अबको दुई महिनापछि नयाँ प्रणालीमा जाँदै गर्दा राहदानी वितरणमा अवरोध आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी तत्काल आवश्यक परेकासहित छ महिनाभित्र चाहिनेलाई छिटो राहदानी लिन विभागले आमनागरिकलाई भनेको हो ।
राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिकालगायतको आवश्यक तयारी गरिसकेको महानिर्देशक अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक÷दुई महिनाभित्र हालको प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको छ ।
उहाँका अनुसार प्रणाली नै परिवर्तन गरेर नयाँ माध्यमबाट छपाइ तथा अनलाइन गर्दा कतिपय अवस्थामा सहजै सबै कामले निरन्तरता पाउन सक्छ तर कतिपय कुरा सुधार गरेर जानुपर्ने अवस्था आयो भने सेवा प्रवाहमा अवरोध आउन पनि सक्छ । उहाँले थप्नुभयो, “कुनै रेडिमेड मेसिन राखेर गर्ने काम नभएकाले प्राविधिक प्रणालीलाई व्यवस्थित गरेर जानुपर्ने अवस्थामा सहज र असहज दुवै हुन सक्छ ।”
उक्त अवधि कम्पनी र विभागको कार्यसम्पादनको परीक्षणकाल मानिन्छ । परीक्षणकालमा आउन सक्ने जटिलताबिच आमनागरिकले तत्काल चाहेको राहदानी नपाउन पनि सक्ने भएकाले नै आवश्यक भएकाले अबको दुई महिनाभित्र राहदानी लिइसक्न अनुरोध गरेको उहाँले प्रस्ट्याउनुभयो ।
दुई महिनासम्म वितरण गर्नका लागि चार लाख थान राहदानी विभागसँग पर्याप्त रहेको छ । अर्यालले भन्नुभयो, “यो दुई महिनाको बिचमा जति उच्च माग भए पनि विभागले सहज रूपमा राहदानी दिन सक्छ, त्यसैले चाहेकाले छिटो लिइहाल्नुस् भनेका हौँ ।” अहिले नै राहदानीको अभाव भइसकेको अवस्था नरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार हालको राहदानी सकिएपछि नै नयाँबाट छापिएको राहदानी वितरण गर्ने योजना अनुसार प्रणाली हस्तान्तरणसहितको छपाइ हुने छ । नयाँ प्रणालीमा गएपछि विगतका अनुभवका आधारमा पनि कहिले कुनै काम नमिल्ने, छपाइ राम्रो नआउने, भने जति राहदानी छपाइ नहुने, प्रणालीमा प्राविधिक समस्या आउन सक्ने सम्भावना रहने अर्यालले औँल्याउनुभयो । उक्त अवस्थालाई करिब एक सातामै सल्टाउने पूर्वतयारी पनि विभागको छ । नयाँ प्रणालीको परीक्षणकाल लम्बिन गएमा राहदानी वितरण नियमित हुन नसक्ने र एकचोटी राम्रो भएर सहज हुने दुवै अवस्थाको पूर्वानुमान गरिएको छ ।
नयाँ प्रणालीमा जाँदा के हुन सक्छ
विभागले नयाँ प्रणालीमा जाँदा सम्भावित विषय उल्लेख गर्दै सूचनासमेत जारी गरेको छ । जस अनुसार जेठ महिनाको सुरुका सात दिनदेखि तीन साता बढी अवरोधयुक्त हुन सक्छ । त्यो भनेको जेठ दोस्रो सातादेखि असारको पहिलो सातासम्मको अवधि अति संवेदनशील रहने छ । त्यस समयमा जिल्ला तथा इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्छ ।
काठमाडौँस्थित राहदानी विभागबाट प्रदान गरिने राहदानी वितरण तथा अनलाइन प्रमाणीकरणसहितको सेवा करिब एक साता बन्द हुन सक्छ । त्यस्तै नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्न सक्छ । त्यसैले उक्त अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हाल कायम रहेकोभन्दा बढी समय लाग्न सक्ने अनुमान विभागले गरेको छ ।
जेठ महिनादेखि असोज महिनासम्मको अवधि नयाँ प्रणालीको परीक्षणकालमा रहने छ । परीक्षणकालका समयमा राम्रो छपाइ र प्रभावकारी अनलाइन प्रमाणीकरणको स्तर निर्माण गरिसक्नुपर्ने कार्यादेश रहन्छ । त्यसैले पनि नागरिकले चाहेकै खण्डमा पनि सामान्य त्रुटि भएका राहदानी र प्रमाणीकरण सेवा उपलब्ध गराउन मिल्दैन । त्यसैले हाल दिएको दुई महिना चैत, वैशाख र जेठको दोस्रो सातासम्ममा आवश्यक राहदानी आमनागरिकले लिनैपर्ने बाध्यता सिर्जना भएको विभागले प्रस्ट पारेको छ । नयाँ प्रणाली सुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचनामार्फत जानकारी दिइने पनि विभागले जनाएको छ ।