• ८ चैत २०८२, आइतबार

युद्धको सन्त्रासमा महँगीको भार

blog

काठमाडौँ, चैत ८ गते । पश्चिम एसियामा युद्धको असरले महँगी बढेपछि त्यहाँका श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली मर्कामा पर्न थालेका छन् । अमेरिका/इजरायल–इरान युद्धका कारण पश्चिम एसियाका श्रम गन्तव्य मुलुकमा आकाश छुने गरी महँगी बढ्दै गएको छ । दैनिक उपभोग्य सामग्रीमा समेत १० देखि २० प्रतिशत मूल्यवृद्धि भएको पश्चिम एसियाका १० मुलुकस्थित नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् । 

इजिप्ट, कतार, कुवेत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, जोर्डन, बहराइन, साइप्रस, इरान, इराक, ओमान, लेबनान, इजरायल जस्ता युद्धको मारमा परेका मुलुकमा उच्च महँगी बढेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिनुभयो । मन्त्रालयको पश्चिम एसिया, मध्य एसिया र अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार कतिपय मुलुकमा बाह्य आवागमनलाई रोक लगाइएको, घरबाटै अनलाइन काम गर्न भनिएको छ । त्यहाँका सरकारले खुला हिँडडुललाई निरुत्साहित गर्दै सुरक्षित रहने उपाय अपनाएकाले पनि बजार, सपिङ मल धेरै जसो समय बन्द रहने गरेका छन् । 

यसले स्थानीय तथा बाह्य व्यापारमा ठुलो असर पु¥याएको छ । त्यसको मारमा आमनागरिक र श्रम गर्न त्यहाँ पुगेका श्रमिकमा परेको उहाँ औँल्याउनुहुन्छ । खड्काले भन्नुभयो, “व्यापार व्यवसायमा वैधानिक रूपमा कम्पनीमा काम गरिरहेकालाई पनि बढेको महँगीका कारण थप मार परेको छ भने अवैधानिक रूपमा बसेकाको अझ बिचल्ली हुने अवस्था आउने देखिएको छ ।” काम नभएका एक जना नेपाली त्यस्तै अलपत्र अवस्थामा बहराइनमा दूतावासको शरणमा पुगेकोे जानकारी उहाँले दिनुभयो । त्यहाँस्थित गैरआवासीय नेपाली समाजको सहयोगमा उहाँलाई खानपिनको बन्दोबस्त हालसम्म मिलाइएको छ । पछिल्लो समय ऊर्जा केन्द्रमा आक्रमण तथा प्रत्याक्रमण बढेकाले हाल कायम रहेको महँगी थप उच्च हुन सक्ने सम्भावना रहेको खड्काले अनुमान गर्नुभयो । जसले भविष्यमा नेपाली श्रमिकको जीवनयापन असहज हुने हो कि भन्ने आशङ्का पनि पैदा हुन थालेको दूतावासको भनाइ छ । उक्त अवस्था आउँदा अवैधानिक रूपमा बसेकाहरू अलपत्र पर्नेतर्फ पनि सरकारले सजगता देखाएको छ । 

पहुँचमा छैन हवाई टिकट

सरकारका तर्फबाट सामूहिक उद्धार गर्नुपर्ने अवस्था आइनसकेकाले त्यो निर्णय भएको छैन । त्यसैले हाल कायम परिस्थितिमा श्रम गन्तव्य मुलुकमा अप्ठेरो महसुस भएमा फर्कन चाहने नेपालीले आफैँ टिकटको रकम तिर्नुपर्ने हुन्छ तर पहिलेकोभन्दा हवाई भाडा तेब्बर भएपछि फर्कन चाहने नेपाली मन मारेर उतै बस्न बाध्य भएका छन् । त्यति मात्र होइन, आफैँ खरिद गर्ने पहुँच पु¥याउन नसक्दा दूतावासको मद्दत श्रमिकले लिनुपर्ने अवस्था छ । 

कतारबाट फर्कन चाहेका नेपाली श्रमिक सन्तोष झा (नाम परिवर्तन) ले भन्नुभयो, “फागुनमा मेरो बिहे थियो, भाडा तेब्बर बढेपछि बिहे नै रद्द गरेर यतै बसेँ, फर्कौं भने तलबभन्दा तेब्बर प्लेनको टिकटको मूल्य कसरी तिर्नु, बिहे खर्च प्लेनमै सकिने भयो ।” त्यसैले पनि पश्चिम एसियामा रहेका नेपाली कामदार युद्ध सकिने र शान्ति छिटो होस् भन्ने कामना गरिरहेका छन् । 

अर्का एक श्रमिक सुन्दर लामा (नाम परिवर्तन) ले थप्नुभयो, “मासिक एक हजार रियल (कतारको मुद्रा) कमाउँछौँ, प्लेनको टिकटको भाडा तीन हजार पुगेको थियो, यस्तो हुँदा फर्कन लागेका साथी पनि फर्केनन् ।”

उहाँले भन्नुभए जस्तै स्वदेश फर्कन चाहेमा तीन हजार रियलको एउटा टिकट किन्नुपर्ने गरी हवाई टिकटको मूल्य आकासिएको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पनि स्वीकार गर्नुभयो । उहाँले सुनाउनुभयो, “तीन हजार रियल भनेको उहाँहरूले कम्पनीबाट पाउने तलबको तीन गुणा बढी महँगो मूल्य हो ।” 

हवाई भाडा बिचमा केही बढे पनि अहिले भने पहिलाको अवस्थामा कायम गरिएको छ । पहिलेकै हाराहारीमा सात सय कतारी रियलदेखि एक हजार रियलसम्म कतार एयरले उपलब्ध गराएको छ तर उडान पूर्ण रूपमा भएका छैनन् । 

सरकारले निःशुल्क उद्धार गरेको खण्डमा आउन चाहेकाले नै बढी जसो सरकारी अनलाइन पोर्टलमा नाम दर्ता गराएको अनुमान छ । वैधानिक रूपमा रहेका १७ लाख देखिए पनि अवैधानिक रूपमा बसेका तथा तथ्य रेकर्ड नभएका समेत गरेर २५ देखि २६ लाखभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ । पश्चिम एसिया, मध्यएसियाका मुलुकबाट हालसम्म ८१ हजार तीन सय आसपासले मात्र नाम दर्ता गराउनाले पनि निःशुल्क उद्धार हुन्छ भन्ने आशा प्रमुख रहेको पाइएको छ । कतिपयले मन्त्रालयको आपत्कालीन नियन्त्रणकक्षमा फोन गरेरै निःशुल्क आउने व्यवस्था गरिदिन पनि भन्ने गरेका छन् । 

खड्काका अनुसार मन्त्रालयका सचिवको नेतृत्वमा रहेको आपत्कालीन प्रतिकार्य समूहको तेस्रो बैठकको निर्णय अनुसार निःशुल्क उद्धारका लागि नेपाल वायु सेवा निगम र हिमालयन एयरलायन्सलाई पत्र लेखेको छ । अब बिदामा आएका श्रमिकले श्रम स्वीकृति पुनःनवीकरण गर्न थालेकाले यताबाट जाँदा खाली जान नपर्ने अवस्था आएको छ ।