प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित १५ सदस्यीय नयाँ मन्त्रीपरिषद्ले सिङ्गो नेपालको समावेशी विविधता झल्काउने गरी महिला सहभागितालाई स्पष्टता दिएको हो ।
काठमाडौँ, चैत १५ गते । नेपालको संविधानले निश्चित गरे अनुसारको समावेशी पहुँच धान्ने गरी पाँच जना महिला मन्त्रीहरू नियुक्त हुनुभएको छ । संविधानले सरकार तथा राज्य संयन्त्रका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बाध्यकारी प्रावधान छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित १५ सदस्यीय नयाँ मन्त्रीपरिषद्ले सिङ्गो नेपालको समावेशी विविधता झल्काउने गरी महिला सहभागितालाई स्पष्टता दिएको हो ।
वर्तमान सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री २९ वर्षीय सीता बादीलाई शुक्रबार मन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि फोन आयो । फोन आउनेतर्फबाट भनियो, “तपार्इं मन्त्री चयन हुनुहुने भएको छ, छिटो सिंहदरबार आइहाल्नुस् ।” उहाँ त्यतिबेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनुभएको सांसद मात्र हुनुहुन्थ्यो । सांसदको पदबहालीपछि घर सुर्खेत फर्केने तयारी गर्दै हुनुहुन्थ्यो । सरकार गठन हुनुअघि बजारमा गाइँगुइँ हल्ला चल्दै गर्दा महिला शक्ति र मतलाई अवमूल्यन गरिन लागेको भनेर विरोधका स्वरहरू उठ्न थालेका थिए । सरकारमा महिलामन्त्री चाहिएको भन्दै फोन आएपछि अघिल्लो दिन सांसद हुँदा लगाएको सारी र कोट भिरेर सीता बादी सिंहदरबार प्रवेश गर्नुभयो । नेपालको आधा आकाश बढी ढाकेको जनसङ्ख्याको प्रतिनिधित्व गर्दै उहाँले सिङ्गै महिला मन्त्रालय पाउनुभयो ।
पद बहाली गर्दैगर्दा उहाँ भक्कानिँदै समालिनुभयो । अनि भन्नुभयो, “म जुन धरातलबाट आएको छु, त्यहाँ मैले आफू महिला हुँ र महिलाको अस्तित्व छ भन्ने अनुभूति कहिले गर्न पाइनँ, विगतमा बादी समुदायलाई पुरानो परम्परागत प्रथाभित्रको संस्कारले टाउको उठाएर हिँड्न निकै सङ्घर्ष गर्नु प¥यो ।” सहयोगी हातहरूको भरथेग नभइदिएको भए आफूले विद्यालय र क्याम्पसस्तरको पढाइ गरेर समुदायको हितमा काम गर्ने अवसर नपाउने पीडा पोख्नुभयो । मन्त्रालयका तर्फबाट उहाँलाई त्यहाँको कामकाजका बारेमा जानकारी गराइँदै गर्दा उहाँले आफू र आफ्नो धरातलका बारेमा सबैलाई प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “समग्र देशभरीका महिला, बालबालिकाका लागि राम्रो गर्न चाहन्छु, त्यसका लागि मन्त्रालयमा रहनुभएका सबैको साथ र सहयोग चाहन्छु ।”
विगतमा बादी समुदायका युवती र किशोरीहरू गाउँका ठुलाको पेवा सरह रहनुपर्ने, उनीहरूबाट जायजन्म भएका बालबालिकाको पिताको ठेगान नहुने अवस्थामा आमासँगै यौन पेसामा लगाइने चलन सुदूरपश्चिम र कर्णाली क्षेत्रमा थियो । त्यो चलन हटे पनि उनीहरूको समुदायमा जन्मिएका बालिका र बालक दुवैले अझै पनि विगतको पीडाको भार बेहोर्दै आउनु परेको छ । मन्त्री नियुक्त भएपछि यसरी काँडा झैँ बिझेर बसेको कुरीति र कुसंस्कारहरूलाई निमिट्यान्न पार्न आफ्नो पहल रहने मन्त्री बादीले प्रतिबद्धता जनाउनुभयो । उहाँ जस्तै समानुपातिकबाट कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री नियुक्त हुनु भएकी गीता चौधरी पनि समुदायमार्फत अघि बढेको महिला हुनुहुन्छ । कञ्चनपुरको शुक्लाफाँटा–४ निवासी ३३ वर्षीय चौधरी पेसाले वकालत गर्दै सामाजिक न्यायको क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
अभावमा बितेको उहाँको बाल्यकालपछि परिवारको ऋणधन गर्दै कानुनमा स्नातकोत्तरसम्मको पढाइ पूरा गर्नुभयो । कञ्चनपुर आसपासका गरिब, दलित र सीमान्तकृत नागरिकहरूलाई निःशुल्क कानुनी सहायता पु¥याउँदै आउनुभएको थियो । दुई मन्त्रालयको बागडोर काँधमा आएपछि उहाँले नेपालका किसानहरूको समस्या समाधान गर्ने र वन विकासका क्षेत्रमा आवश्यक सुधारसहित अघि बढ्ने प्रस्ट्याउनुभयो । उहाँले पदबहालीका क्रममा भन्नुभयो, “कुराभन्दा पनि काम गर्न आएका हौँ, कम बोलेर काम गरेर देखाउने चाहना छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी समाल्नुभएकी निशा मेहताले नर्सबाट सिधै सांसद र त्यसपछि मन्त्रीको अवसर पाउनु भएको हो । ३८ वर्षीय मेहताले भारतको ग्वालियर विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तरपछि नेपालका विभिन्न अस्पतालमा सेवा गर्नुभएको थियो । चुनौती सामना गर्दै समस्या समाधान गर्ने कला उहाँले विगतमा आयोजना गर्नुभएका सेवासम्बन्धी विविध कार्यक्रमले देखाउँछ । मन्त्री बनेपछि उहाँले नेपालको स्वास्थ्य र खानेपानी सेवाको पहुँच आमनागरिकसम्म पु¥याउँदै सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त हुनुभएकी प्रतिभा रावल आफैँमा बहुप्रतिभाशाली महिला हुनुहुन्छ । लामो समय पत्रकारिता र समाज सेवाको अनुभवसहित राजनीतिमा प्रवेश गर्नुभएकी उहाँले पत्रकारले गर्ने प्रश्नले मात्र जनताका पीडा समाधान नहुने भएकाले राजनीतिमा प्रवेश गरेको धारणा व्यक्त गर्नुभएको छ । आफ्नी आमालाई जीवनको प्रेरणा मान्ने उहाँले आमाकै सङ्घर्षको परिणाम स्वरूप अगाडि बढ्न सकेको र मन्त्री पदसम्म पुग्न सकेको अनुभव पदबहालीका क्रममा सुनाउनुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनुभएकी सोविता गौतम भने चितवन–३ बाट प्रत्यक्ष निर्वाचनमा विजयी भएर सांसद र त्यसपछि मन्त्री हुनुभएको हो । स्पष्ट वक्ता र स्पष्ट धारणा राख्नुहुने गौतम यसअघि पनि रास्वपाको सांसद हुनुहुन्थ्यो । कानुन र संसदीय मामिलामा आवश्यक सुधार गर्दै जनमैत्री न्याय हुनुपर्ने अवधारणामा काम गर्ने लक्ष्य उहाँको रहेको छ ।