काठमाडौं, पुस १३ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बिच एकीकरण गर्ने निर्णय भएको छ । दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।
बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ ।
संयुक्त बैठकमा लोकतन्त्र सुदृढीकरण, समावेशी शासन व्यवस्था तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न दुवै पार्टीबीच सहकार्यलाई अझ सशक्त बनाउँदै एकीकृत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पार्टी एकीकरणसम्बन्धी आगामी कार्यविधि, संरचना र नेतृत्व व्यवस्थापनका विषयमा आवश्यक छलफल र प्रक्रिया अघि बढाइने दुवै अध्यक्षले बताएका छन् ।
