• २१ चैत २०८२, शनिबार

कच्ची हुँदा नियमित उडान, कालोपत्रे भएपछि बन्द

blog

धावनमार्ग कालोपत्रेपछि बन्द भएको चौरजहारी विमानस्थल । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, चैत २१ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ स्थित चौरजहारी विमानस्थल आठ वर्षदेखि पूर्ण रूपमा बन्द छ । वि.सं. २०२८ मा निर्मित यस विमानस्थलको कच्ची धावनमार्गमा नियमित उडान हुँदै आए पनि कालोपत्रे भएपछि भने सेवा ठप्प भएको छ ।

धावनमार्ग कालोपत्रे भएपछि उडान थप हुने, व्यावसायिक तथा पर्यटकीय गतिविधि बढ्ने र यातायात सुविधा सहज हुने अपेक्षा राखेका यहाँका स्थानीय बासिन्दा वर्षौंसम्म विमानस्थल बन्द हुँदा निराश भएका छन् । चौरजहारी नगरपालिका–१ का महेश गिरीले राज्यको करोडौँ लगानी भएको विमानस्थल बन्द हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँका अनुसार जहाज आउँदा चहलपहल हुने यस क्षेत्रको व्यापार व्यवसाय अहिले सुनसान बनेको छ ।

तत्कालीन अवस्थामा रुकुम, जाजरकोट, सल्यान र डोल्पा लगायतका सर्वसाधारणको सहजताका लागि सञ्चालनमा आएको विमानस्थल बन्द हुँदा यहाँका नागरिक मर्कामा परेका छन् । नयाँ सहरका रूपमा विकसित भइरहेको चौरजहारीमा रहेको विमानस्थल नै बन्द हुँदा जनताले सहज हवाई सेवा उपभोग गर्न नपाएको चौरजहारी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तेजबहादुर विष्टले बताउनुभयो ।

उहाँले जनताले सहज र सरल यात्रा खोजिरहेका बेला करोडौँ सरकारी बजेट खर्चिएको विमानस्थल बन्द हुनु लाजमर्दो भएको बताउनुभयो । राज्यको ठुलो सम्पत्ति उपयोगमा नआउँदा जनताले कष्ट भोगिरहेको उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति रिमप्रसाद शर्माले नियमित सञ्चालनको सम्भावना हुँदाहुँदै पनि राज्यको ध्यान पुग्न नसकेको जनाउनुभयो । निर्माण भएका संरचनाहरू उपयोग गरेर लगानीको सदुपयोग गर्नु नै प्राथमिक विषय रहेको उहाँको तर्क छ । कालोपत्रे भइसकेपछि यो वा त्यो बहानामा चौरजहारी विमानस्थल बन्द गरिनु गैरजिम्मेवार प्रवृत्ति रहेको उपसभापति शर्माले बताउनुभयो ।

२०२८ सालदेखि सञ्चालनमा आएको चौरजहारी विमानस्थलमा २०७० सालदेखि नियमित जहाज आउन छाडेको हो । २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्गमा कालोपत्रे गर्ने काम चलेको थियो । पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा धावनमार्ग कालोपत्रे गरिएको थियो । त्यसपछि केही समय अनियमित रूपमा जहाज आउजाउ गरे तापनि कोरोना महामारीपछि यो विमानस्थल पूर्ण रूपमा बन्द छ ।

तत्कालीन अवस्थामा वायुसेवा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्जको टोलीले विमानस्थलमा रहेका महत्त्वपूर्ण सामग्रीहरू उठाएर लगेको बताइन्छ । जहाजको अभाव रहेको र यात्रीको सङ्ख्या समेत कम भएको भन्दै कार्यालय हटाइएको थियो । अहिले सुरक्षाका लागि विमानस्थलमा प्रहरी टोली मात्र खटाइएको छ ।