जनकपुरधाम, पुस १४ गते। जनता समाजवादी पार्टी (जसपा) नेपाल राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएको र सर्वसाधारणले निर्वाचन नै लड्न नसक्ने अवस्था रहेको बताउनु भएको छ ।
जसपा नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आयोजना गरेको जनप्रदर्शन तथा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नु भएको हो । छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण र सुदृढीकरणको मागसहित जसपा नेपालको मधेश प्रदेश समिति जनकपुरको आयोजनामा सभामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता छ ।
सभाका प्रमुख अतिथि तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले मुलुक अहिले गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटबाट गुज्रिरहेको बताउनुभयो।
उहाँले विगत ३५ वर्षदेखि सरकारमा रहेका कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, उदारीकरण र निजीकरणका कारण देशका करिब १३५ वटा उद्योग–कलकारखाना बन्द भएको, सरकारी विद्यालयको अवस्था कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र मुलुक ३३ अर्ब रुपियाँभन्दा बढी ऋणको बोझमा परेको आरोप लगाउनुभयो।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई राज्यले समुचित रूपमा सम्हाल्न नसकेको उल्लेख गर्दै ती क्षेत्र ध्वस्त हुनुमा सत्तारुढ दलहरूकै प्रत्यक्ष जिम्मेवारी रहेको टिप्पणी गर्नुभयो। संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषय जसपा नेपालले सुरुदेखि उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरूलाई बेवास्ता गरिएको उहाँले बताउनुभयो।
उहाँले बढ्दो निराशाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रिन बाध्य भएको उल्लेख गर्नुभयो। सिंहदरबारलगायत ऐतिहासिक तथा सामरिक महत्वका संरचनामा क्षति पुग्नु, नेताहरूका घर जलिनु र सुरक्षाकर्मीको संरक्षणमा भाग्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उहाँको भनाइ छ । तर, अहिलेको सरकारले पनि विगतमा मधेशी जनतालाई झुक्याए झैँ जेनजी युवालाई पनि भ्रममा पार्ने प्रयास गरिरहेको आरोप उहाँले लगाउनुभयो।
अध्यक्ष यादवले मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको ऐतिहासिक भूगोल भएको स्मरण गराउँदै उहाँले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले आम नागरिकले पनि चुनाव लड्न सक्ने वातावरण बनाउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने उहाँको माग छ ।
अध्यक्ष यादवले मुलुकको कुल जनसंख्याको करिब ६० प्रतिशत मधेशी भए पनि अहिलेको निर्वाचन क्षेत्र संरचनाले केवल १० प्रतिशत मात्र प्रतिनिधित्व दिएको उल्लेख गर्दै यसलाई गम्भीर विभेदको संज्ञा दिनुभयो।
जनकपुरधाम–तिरहुतिया गाछीबाट सुरु भएको कार्यक्रममा मधेशका विभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ।